काठमाण्डु, २४ साउन– एमालेले राष्ट्रपति र उपराष्ट्रपति संसदबाट अनुमाेदन गराउने पूर्वसहमति कार्यान्वयन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

रिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले तत्काल राष्ट्रपति र उपराष्ट्रपति संसदबाट अनुमोदन नभए आफ्नो पार्टीले गठबन्धन तोड्ने चेतावनी दिए । उनले आगामी २७ साउनबाट सुरु हुने केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थनका सम्बन्धमा ठोस धारणा बनाउने बताए ।
सात बुँदे सहमतिका आधारमा वर्तमान सरकार गठन भएको चर्चा गर्दै उनले सहमति पालना गर्नुको साटो काँग्रेस नेताहरुले सरकार छाड्न धम्की दिएको भन्दै आपत्ति जनाए ।
‘सहमति कार्यन्वयन नभए सत्ता गठबन्धन टुट्ट’, भट्टराईले भने, राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन नभए एमाले सरकारबाट बाहिरिन्छ ।’ उनले काँग्रेस गठन्धन सरकारको संस्कारविपरीत स्वेच्छाचारी ढंगले अघि बढेकाले गठबन्धन संकटमा परेको उल्लेख गरे ।