जनकपुर, २४ साउन– संविधानसभाको राजनीतिक संवाद तथा सहमति समिति मातहतको वार्ता उसमितिले पूर्वी तथा मध्य तराईमा सक्रिय सशस्त्र भूमिगत समूहसँग शनिबार गर्ने भनिएको वार्ता स्थगित भएको छ ।
समितिले उक्त क्षेत्रमा सक्रिय १८ मध्ये ९ वटा समूहसँग शनिबार जनकपुरमा वार्ता गर्ने बताएको थियो । वार्ताका लागि काँग्रेस सभासद आनन्दप्रसाद ढुंगाना नेतृत्वको टोली जनकपुर पुगिसकेको थियो ।
तर सशस्त्र समूहमध्येको एक जनतान्त्रिक तराई मुक्ति मोर्चाले सरकारबाट विगतका सहमति कार्यान्वयन नगरेसम्म वार्तामा नबस्ने पत्र पठाएपछि वार्ता स्थगित भएको हो ।
ढुंगानाले मध्यस्थकर्तामार्फत सशस्त्र समूहहरुसँग सम्पर्क भइरहेको र आइतबारसम्ममा वार्ता हुने बताए ।
उपसमितिले यसअघि पूर्वी तराईमा सक्रिय सशस्त्र समूहसँग वार्ता गरेको थियो । जनकपुरपछि नेपालगञ्जमा पश्चिम तराईमा सशस्त्र समूहसँग वार्ता गर्ने कार्यतालिका छ ।