वैद्यलाई सहमतिमा ल्याउन एमाओवादीको जोड

काठमाण्डु टुडे २०७१ साउन २४ गते १०:३३ मा प्रकाशित

काठमाण्डु, २४ साउन–  एकीकृत माओवादीले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि संविधान निर्माणमा सहभागी गराउन माग गरेको छ ।
maoist flagसंविधान निर्माणका विवादित विषयमा सहमति जुटाउन र संविधानसभाबाहिर रहेका शक्तिलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउने उद्देश्यले काँग्रेससँग शनिबार भएको छलफलमा एमाओवादीले यस्तो माग गरेको हो ।

छलफल काँग्रेस संसदीय  दलको कार्यालय सिंहदरबारमा भएको थियो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्धारित समयमै संविधान जारी गर्न छलफललाई निरन्तरता दिने सहमति भएको बताए ।

‘विवादित विषयमा सहमति गर्दै निर्धारित कार्यतालिकाभित्रै संविधान जारी गर्नुपर्छ’, श्रेष्ठले भने, ‘संविधानसभामा नरहेका नेकपा–माओवादीसहितका दललाई पनि सँगै लिएर जाऔं भन्यौं ।’

छलफलमा काँग्रेसबाट उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य महेश आचार्य तथा एमाओवादीबाट श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us