काठमाण्डु, २४ साउन– एकीकृत माओवादी बाबुराम भट्टराईले पार्टीभित्रको अन्तसंघर्षलाई नवआलोकहरुले नकारात्मक दिशा दिन खोजेको टिप्पणी
गरेका छन् ।
पार्टी विवाद उत्कर्षमा पुगेका बेला शनिबार ट्वीट गर्दै उनले नवआलोक’हरुको नकारात्मक सक्रियता बढेको बताएका हुन् । ‘पार्टीभित्रको अन्र्तसंघर्षमा प्रत्येक पटक नवआलोकहरुको नकारात्मक सक्रियता विशेष उल्लेखनीय रहने गरेको छ ।
यसपटक पनि त्यस्तो झल्को देखिन थालेको होत ?’ उनले ट्वीटमा भनेका छन् । एमाओवादीभित्र आलोक प्रवृत्ति भन्ने शब्दावली धेरै प्रयोग हुने गरेको छ । काभ्रेका नेता यानप्रसाद गौतम ‘आलोक’ को नकारात्मक गतिविधिको संश्लेषण गरेर माओवादीले आलोक प्रवृत्ति शब्द प्रयोगमा ल्याएको हो । अराजक गतिविधिमा संलग्न रहेको आरोपमा निलम्बन गरी पार्टी हिरासतमै राखिएका बेला आलोकको सशस्त्र द्वन्द्वकै समयमा सैनिक कारबाहीमा ज्यान गएको थियो ।
विभिन्न जिल्लामा समानान्तर कमिटी बनाएको भन्दै स्थायी समितिले केही दिनअघि भट्टराई पक्षघर पोलिट्ब्युरो सदस्य गंगा श्रेष्ठलाई तीन र केन्द्रीय सदस्य रामरिझन यादवलाई एक महिना निलम्बन गरेको थियो ।
यस्तै माओवादीले तीन पटकभन्दा बढी बिनाजानकारी बैठकमा अनुपस्थित रहेको भन्दै भट्टराई पक्षीय सचिव टोपबहादुर रायमाझी र स्थायी समिति सदस्य देवेन्द्र पौडेललाई केन्द्रीय सदस्यमा घटुवा गरेको थियो । भट्टराई पक्षले उक्त कारबाहीलाई पार्टीएकता कमजोर पार्ने हर्कतको संज्ञा दिँदै आएको छ ।