जुरेमा बेहाल छ, सरकार मोदी र चरीको पछि लागेको छ

काठमाण्डु टुडे २०७१ साउन २४ गते ९:२९ मा प्रकाशित

काठमाण्डु, २४ साउन– एक साताअघि गएको सिन्धुपाल्चोक जुरेको पहिरोको पीडा बयान गरेर साध्य छैन । पीडितहरु लाखापाखा छन् । पुरिएकाहरुको अत्तोपत्तो छैन । कतिपय घरहरुको नामोनिशाना छैन । पछिल्लो समय घटनास्थल दुर्गन्धित बन्दै गएको छ । साउन १७ गते jure 1गएको पहिरोले १५६ जनाको ज्यान लियो । ३३ जनाको त शव भेटियो, १२३ जना पुरिएकै अनुमानमा मृत घोषित गरिए । पहिरोमा परेर बित्ने बितिगए, बाँच्नेहरु पीडामा छन् । अझै सुनकोसीमा बनेको ड्याम फट्ने खतराले जुरेभन्दा तलका बासिन्दाको भागाभाग छ । दिनभर तल झर्छन्, रात परेपछि उकालो लाग्छन् । सबैलाई ज्यान नै प्यारो छ । दुर्गन्धित बन्दै घटना भएको साता बितिसकेको छ । उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली लागेको छ । छुट्टै क्याम्प बनाएर बसेको थप सुरक्षा फौजको टोलीले सकेको काम त गरेको छ । तर घटनास्थलमा दुर्गन्ध फैलिएकाले समस्या सिर्जना भएको छ । पहिरोले पुरिएका मानिस, गाईवस्तु, कुखुरा र अन्न कुहिन थालेका कारण घटनास्थलमा दुर्गन्ध फैलिएको छ । दुर्गन्धका कारण उद्दारमा खटिएका र त्यस वरपरका बासिन्दामा रोगको खतरा बढेको छ ।

jure 2घटनास्थल पुग्ने रमितेहरु समेत एकछिन पनि बस्न नसकी फर्कने गरेका छन् । तत्काल पुरिएका मानिस, गाइवस्तुहरु निकाल्न सक्ने अवस्था नरहेकाले पनि दुर्गन्ध थप फैलनेछ । दुर्गन्धले रुघा लाग्ने, श्वास फेर्न गार्‍हो हुने गरेको छ । उद्दारका लागि खटिएका सुरक्षाकर्मीहरु भन्दै थिए, ‘गन्हाएर बसिसक्नु छैन, कसरी उद्दारको काम गर्नु ?’ कतिपय सुरक्षाकर्मीहरु भने आफ्नै उद्दार गर्नुपर्ने बेला भइसक्यो भन्दै थिए । सरकारको नालायकी ? पहिरो गएको साता बितिसकेको छ । साता बित्दा पनि सुरक्षाकर्मी लगाएर ब्लास्ट र घटनास्थल रुग्नेबाहेक अरु केही हुन सकेको छैन । सशस्त्र प्रहरी बलले सुरुमा केहीलाई घाइते अवस्थामा उद्दार गरेको थियो । घटनास्थलबाट सबैभन्दा नजिक रहेको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा क्याम्पबाट खटिएको टोलीले सबैभन्दा बढी मद्दत गरेको छ । सीमा सुरक्षाका एसपी लक्ष्मण शाहीको टोलीले उद्दारमा बढी काम गरिरहेको देखिएको छ । सशस्त्रकै क्याम्पमा नेपाल प्रहरी र नेपाली सेनाको टोली पनि अस्थायी क्याम्प बनाएर उद्दार गरिरहेको छ । सुरक्षाकर्मीहरुले सकेको उद्दार कार्य गरिरहेको छ ।

घटनास्थलमा शुक्रबार दिनभरजसो झमझम परेको पानीको समेत बेवास्ता गर्दै सुरक्षाकर्मीहरु घटनास्थलमा काम गरिरहेका थिए । नेपाली सेना ड्यामबाट पानी बगाउन बारम्बार विष्फोट गरिरहेका थिए । विष्फोटबाट मानवीय क्षति हुने भन्दै घटनास्थल वरपर जानबाट सुरक्षाकर्मीहरुले रोकेका देखिन्थे । ‘जति बम ब्लाष्ट गरेपनि ड्याम फुटाउन सकिएला जस्तो छ’ बम विष्फोटमा खटिएका नेपाली सेनाका एक अधिकृतले भने, ‘जति ब्लाष्ट गरेपनि ज्युँकात्युँ छ । खै केही पारा लाग्लाजस्तो छैन ।’ पानीको वहाब बढाउन सुरक्षाकर्मीको प्रयास निरर्थकजस्तै भएको छ । सरकारलाई त्यसबारे जानकारी गराइसकेको छ ।

तर, अहिलेसम्म सरकारले बेवास्ताजस्तै गरेको छ । ड्यामबाट पानीको बहाव बढाउन चीन सरकारले सहयोग गर्ने बताइसकेको छ । तर सरकारले चीन सरकारको सहयोगलाई अस्वीकार गरेको छ । चीनले सुनकोसीको ड्याम हटाउन सहयोग गर्ने बताएपनि ‘नेपाल सरकारको असक्षमताका कारण’ ड्याम फुटाउन सहयोग लिन नसक्नु दु:खद भएको सुरक्षाकर्मीहरु बताइरहेका भेटिन्थे । ‘आफूले गर्न नसकेपछि चीनले गर्छु भनेको सहयोग त लिनस्क्नुपथ्र्यो नि’ घटनास्थलमा भेटिएका एक वरिष्ठ प्रहरी अधिकृत भन्दै थिए । घटनाप्रति सरकारले बेवास्ता गर्दा झन खतरा बढेको स्थानीयको गुनासो छ ।

jure 3सरकारले विदेशीबाट पनि सहयोग लिन नसक्ने अनि आफू पनि गर्न नसकेका कारण पीडितहरु थप पीडामा छन् । रमितेहरु बढी सुनकोसीमा गएको पहिरो हेर्न जानेको भीड बढ्न थालेको छ । राहत वितरण गर्नेहरुको भीड लागेको छ । घटनास्थल वरपर हेर्न जान र फोटो खिच्नेहरुको भीड देखिन्छन् । पहिरोको स्थिति देखेर हेर्न पुगेकाहरु समेत भक्कानिन्छन् । पीडाबोध गर्छन् । पहिरो हेर्न पुगेकाहरु समेत सरकारको आलोचना गर्दै गरेको भेटिन्छन् । पहिरो गएको यतिका दिनसम्म पनि राम्ररी उद्दार हुन नसकेको, सुनकोसी ड्यामबाट पानीको बहाव बढाउन नसकेकोमा उनीहरुको आक्रोस थियो । सत्ताका लागि मात्र मरिहत्ते गरिरहेकाहरु जनताका दु:खप्रति सम्वेदनशील नभएको गुनासो गरेका छन् । पहिरोमा त्यत्तिमा मानिस मरेका छन् । ५० भन्दा बढी घर बगाएको छ ।

बाँचेका ४ सयभन्दा बढी मानिस घरबारबिहीन छन् । तर राज्यलाई दु:खेको छैन । सरकारले काठमाण्डुमा बसेर राहतर उद्धार घोषणा गरेको छ । घर घटनास्थलमा न राहत पुगेको छ, न उद्धार नै । अघिल्लो साताका सुरुआती दिनहरु सरकारले भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बहानामा बितायो । साताको उत्तराद्ध्र्रमा प्रहरी कारबाहीमा मारिएका डन दिनेश अधिकारी ‘चरी’ मै अल्मलिएको छ । ती विषय पनि निश्चित रुपमा सरकारका जिम्मेवारीभित्रै पर्लान्, तर पहिरो पीडितलाई प्राथमिकता नदिएर मोदी र चरीको पछि मात्र दगुर्नु ठीक भएन कि ?
(जुरेबाट फर्केपछि)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us