काठमाण्डु, २४ साउन– एमालेले सरकार गठनअघि भएको सात बुँदे सहमति कार्यान्वयन गर्नेबारे काँग्रेससँग निर्णायक छलफल गर्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिबार बसेको केही पदाधिकारी र मन्त्रीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा माधवकुमार नेपाल पक्षका उपाध्यक्ष भीम रावल लगायतका नेता थिएनन् । सात बुँदेमा राष्ट्रपति र उपराष्ट्रपति संसदबाट अनुमोदन गर्ने सहमति भए पनि काँग्रेसले सहमति पालना गर्न नचाहेको भन्दै एमाले असन्तुष्ट बनेको छ ।
बैठकले सातबुँदे सहमति कार्यान्वयनका लागि काँग्रेससँग वार्ता गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको छ । पार्टीका तर्फबाट सकारकारमा सहभागी मन्त्रीले प्रभावकारी काम गर्न नसकेको गुनासो बढेका विषयमा पनि छलफल भएको थियो ।
मन्त्रीहरुले बैठकमा प्रधानमन्त्री सुशील कोइरालाको असहयोगका कारण कामकारबाहीले गति लिन नसकेको भन्दै असन्तुष्टि पोखेका थिए ।
।