चरी दाेहाेराे भिडन्तमा मारिएको बताएपछि बामदेवको जागिर धरापमा

काठमाण्डु टुडे २०७१ साउन २४ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, २४ साउन– गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ मारिएको विषयलाई लिएर एमालेमा स्पष्ट दुई धार देखिएको छ ।
bamdevव्यवस्थापिका–संसदमा चरी प्रहरीको जवाफी कारबाहीमा मारिएको बताएपछि उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमप्रति अध्यक्ष केपी शर्मा ओली पक्ष आक्रोशित भएको छ । संस्थापनमै भए पनि धादिङका नेताहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरुप्रसाद बुर्लाकोटीले चरी प्रकरणमा ओली पक्षलाई साथ दिएको छ ।
चरी प्रकरणबारे शुक्रबार संसदलाई जवाफ दिने क्रममा एमाले उपाध्यक्षसमेत रहेका गौतमले पक्राउ गर्न खोज्दा प्रहरीमाथि गोली प्रहार गरेकाले जवाफी कारबाहीमा चरी मारिएको बताएका थिए । त्यसपछि एमालेभित्र गौतमको चर्को आलोचना भएको छ, खास गरी केपी ओली खेमाबाट ।

ओली स्वयम्ले चरीको षड्यन्त्रपूर्वक हत्या गरिएको भन्दै छानबिनका लागि संसदीय समि ित गठन गर्नुपर्ने माग गर्दै आएका छन् ।

बामदेवले संसदमा दिएको अभिव्यक्तिबाट रिसाएको ओली पक्ष बामदेवको राजीनामा माग्ने तयारीमा पुगेको छ । योसँगै नवौं महाधिवेशनका बेला बनेको ओली–गौतम गठबन्धन धरापमा परेको छ । चरी घटना सम्बन्धमा ओलीलाई अध्यक्षमा जिताउन ज्यान फालेर लागेका गौतम र माधव नेपाल प्यालनबाट नेतृत्वमा आएकाहरु एकै ठाउँ उभिएका छन् । चरी प्रकरणबारे दुवैथरिको समान धारणा छ । अध्यक्ष केपी ओलीसहित संस्थापन पक्ष पार्टीको धादिङ क्षेत्र नम्बर–१ का पूर्वउपाध्यक्ष समेत रहेका चरीलाई पक्राउ गरेर गैरन्यायिक हत्या गरिएकाले घटनामा संलग्न प्रहरीको बर्दी फुकालेर कारबाही गर्नुुपर्ने अडानमा छ । तर नवौं महाधिवेशनमा माधव नेपाल प्यालनबाट नेतृत्वमा आएका उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, केन्द्रीय सदस्यहरु ठाकुर गैरे, रामकुमारी झाँक्रीलगायत पार्टीले डन प्रवृत्तिको संरक्षण गर्न नहुने पक्षमा छन् । नेपक्ष पक्ष यही मौकाको सदुपयोग गर्दै ओली–गौतम गठबन्धन भत्काउने रणनीतिमा लागेको छ । चरी विवादकै कारण शुक्रबार बस्ने भनिएको स्थायी कमिटी बैठक बस्न सकेन ।
केन्द्रीय सदस्य एवम् धादिङका सभासद राजेन्द्र पाण्डेले चरी घटनाबारे गृहमन्त्रीले संसदमा दिएको जवाफ चित्त बुझ्दो नभएको बताए । उनले गौतमले प्रहरीले तयार पारेको झुठो विवरण पढेर सुनाएर सार्वभौम संसदलाई ढाँटेको आरोप लगाए । गौतमको यस्तै रवैया रहिरहे उनको राजीनामा मागिने चेतावी उनले दिए । आइतबारको संसद बैठकमा आफ्ना कुरा राख्ने र त्यसपछि पनि माग सम्बोधन नभए गृहमन्त्रीबाट गौतमको राजीनामा मागिने उल्लेख गरे । ‘आइतबारको संसद बैठकमा आफ्ना कुरा राख्छौं’, पाण्डेले भने, ‘यदि हाम्रा कुराको सुनुवाई भएन भने गृहमन्त्री, प्रधानमन्त्री कसको राजीनामा माग्नुपर्छ माग्छौं ।’
उनले चरी घटनाबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने र हत्यामा संलग्न प्रहरी अधिकृतसहित सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us