
काठमाण्डु, २४ साउन– चाडपर्व नजिकिंदै जाँदा सरकारले चाडपर्वका नाममा अनावश्यक तडकभडक नदेखाउन आग्रह गरेको छ ।
गृह मन्त्रालयले शनिबार राजपत्रमा सूचना प्रकाशित गर्दै चाडपर्वका बेला अनावश्यक भोजभतेर, जमघट र फजुल खर्च नगर्न सचेत गराएको हो । गृहले सरकारी कर्मचारी र उनीहरुका परिवारमाथि चाडपर्वका बेला थप निगरानी राख्ने भएको छ ।
सरकारी कर्मचारी र उनका परिवारले तडकभडकपूर्ण व्यवहार गरे कारबाही हुने चेतावनी सरकारको छ । जिल्लाजिल्लामा अनावश्यक कार्यक्रम भए कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहले निर्देशन दिएको छ ।
जितमा मात्र नभई कुनै पनि पर्वमा विकृतिजन्य काम नगर्न, नगराउन तथा यस्तो काममा सहभागीसमेत नहुन अपिल गरेको छ । चाडपर्वका बेला देखिने भड्किलोपन, तडकभडक, अनावश्यक भोजभतेर, जमघट र फजुल खर्चले सर्वसाधारण नागरिकमा असर पर्ने गृहको ठहर छ ।
सामाजिक व्यवहार सुधार गर्ने सम्बन्धमा बनेको ऐनमा चाडपर्वका बेला फजुल खर्च गर्ने र तडकभडक देखाउनेलाई २० हजारसम्म जरिवाना वा १५ दिनसम्म कैद वा दुवै हुन सक्छ ।