
काठमाण्डु, २४ साउन– सुनकोसी विपत, बसभित्र सामूहिक बलात्कारलगायतका विषय पनि थिए, बिहीबारको संसद तताउन ।
१ सय ५६ जना मृत्यु भएको सिन्धुपाल्चोकको विपतमा सदनले औपचारिकताबाहेक केही देखाएन । संवेदना पटकक् झल्केन । नेपालगञ्जको सामूहिक बलात्कार काण्ड केही महिला सभासदले मात्र उच्चारण लायक ठाने । अापराधिक पृष्ठभूमिका दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएको घटनाले चाहि संसद भदौरे गर्मीझै चर्कियो ।
कारबाहीमा संलग्न प्रहरीलाई तत्काल निलम्बन गरी छानबिन समिति गठन गर्न धादिङ-१ का एमाले सभासद राजेन्द्र पाण्डेले माग गरे।
‘प्रहरी संगठित अपराधमा संलग्न छ,’ उनले धम्काए, ‘यस्तै हो भने संसद चल्न सक्दैन ।’ धादिङका ४ सभासदले आफ्नो जिल्लाका कार्यकर्तासमेत रहेका गुण्डा नाइके चरीको गैरन्यायिक हत्या भएको आरोप लगाउँदा कतिपय सभासदले टेबल ढक्ढकाएपछि सभामुखले गृहमन्त्रीसँग जानकारी माग्नु परेको थियो । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले संसदमा शुक्रबार क्रसफायरमै चरीलाई गोली लागेको जवाफ दिए ।
जवाफमा असन्तुष्ट सभासद् पाण्डेले तत्कालै उठेर घटना सुनियोजित भएको जिकिर गरे । यसरी बोल्नु नियमविपरित भएको भनिरहेका सभामुखसँगै उनले सवाल जवाफ गरे । ‘यो घटना यसै सेलाउनेवाला छैन ।’ उनको चेतावनी थियो। ड्ढएमालेले शुक्रबार धादिङ बन्द समेत गरायो ।
कान्तिपुर दैनिकबाट