बलात्कारीलाई सर्वस्वहरणसहित जन्मकैद माग

काठमाण्डु टुडे २०७१ साउन २३ गते १४:२० मा प्रकाशित

काठमाण्डु, २३ साउन- सभासदहरुले नयाँ बन्ने संविधानमा बलात्कारीलाई जन्मकैदको व्यवस्था गरिनुपर्ने बताएका छन् ।

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा उक्त सजाय माग गरेका हुन् । बैठकमा बोल्दै सभासद रञ्जु ठाकुरले बलात्कारीलाई सर्वस्वसहित जन्मकैदको व्यवस्था गर्न माग गरिन् । त्यस्तो सजायले मात्र समाजमा बलात्कारका घटनामा कमी आउने उनको भनाइ थियो ।

अर्की सभासद  लक्ष्मी चौधरीले बलात्कारीलाई जन्मकैदको सजाय नभए समाजमा बलात्कारका घटनामा कमी नआउने उल्लेख गरिन् ।

बैठकमा राधा तिमल्सिना, रामवीर मानन्धर लगायतले बलात्कारीलाई राजनीतिक संरक्षण हुने गरेको भन्दै आपत्ति जनाए । यसबैच उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नेपालगञ्जमा भएको सामूहिक बलात्कारको घटनाबारे संसदलाई जानकारी गराएका थिए ।

उनले घटनमा संलग्न दाङका नरबहादुर बीसी, टेकबहादुर विक, हरि सुनार, दैलेखका प्रदीप सुनार र सल्यानका हरि खड्कालाई पक्राउ गरी प्रहरीले मुद्धा चलाउने तयारी गरिरहेको जनाए ।
रुकुमकी १८ वर्षीया एक किशोरीमाथि बुधबार चालक र सह–चालकले बसभित्रै सामूहिक बलात्कार गरेका थिए । सभासदले बिहीबारको बैठकमा घटनाबारे संसदलाई अवगत गराउन माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us