गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गराउने अख्तियारको फन्दामा

काठमाण्डु टुडे २०७१ साउन २३ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, २३ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिल्लीबजार मालपोत कार्यालयका शाखा अधिकृत सीताराम पोखरेलसहित ६ कर्मचारीलाई पक्राउ गरेको छ ।

उनीहरुलाई गुठी जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने अभियोगमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

काठमाण्डु सरस्वती गाविस ६ मा रहेको गुठीको ४ रोपनी ४ आना जग्गालाई रैकरमा परिणत गर्ने गैरकानुनी कार्य गरेको अख्तियारले आरोप लगाएको छ ।

सो आरोपमा गुठी संस्थान शाखा कार्यालय त्रिपुरेश्वरका सहायक प्रशासक मेघराज देवकोटा, वरिष्ठ सहायक कृष्णहरि भट्टराई पनि पक्राउ परेका छन् ।

गलत विवरणको निवेदन दिने कविन्द्र महर्जन, रविन्द्र महर्जन र सुरेन्द्र राज जोशी पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

मालपोत कार्यालय डिल्लीबजारका नायब सुब्बा गणेश बहादुर भट्टराई भने फरार छन् ।

उनको खोजीकार्य जारी रहेको अख्तियारले विज्ञप्ति जारी गरी जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us