काठमाण्डु, २३ साउन– गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ मारिएको विषयमा शुक्रबार उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका–संसदलाई जवाफ दिए । 
जवाफमा क्रममा उनले चरी प्रहरीको जवाफी कारबाहीमा मारिएको बताए ।
चरी काठमाण्डुको भीमढुंगामा रहेको र त्यहाँबाट धादिङ जाने लागेको सूचनाका आधारमा पिछा गर्दै गएको प्रहरी टोलीलाई लक्षित गरी गोली चलाएकाले प्रहरीको जवाफी कारबाहीमा मारिएको बताए ।
बिहीबारको बैठकमा चरीलाई पक्राउ गरी हत्या गरिएको र नक्कली मुठभेडको नाम दिइएको भन्दै जवाफ मागेपछि सभाध्यक्ष सुवास नेम्वाङले घटनाबारे संसदलाई जानकारी गराउन रुलिङ गरेका थिए । गौतमले बोल्ने बित्तिकै बसेको स्थानबाट आक्रोशित हुँदै उठे एमाले धादिङ–१ का सभासद राजेन्द्र पाण्डे ।
संसद नियमावलीमा मन्त्रीले बोलेपछि प्रतिवाद गर्न नपाइने व्यवस्था रहेको स्मरण गराउँदै सभाध्यक्ष नेम्वाङले पाण्डेलाई बस्न भने । तर, पाण्डे बस्न मानेन् । उनले गृहमन्त्रीको जवाफ झुठो रहेको र सरकारले संसदलाई ढाँटेको आरोप लगाए ।
गृहमन्त्री गौतमले पुलिसले लेखेको रिपोर्ट पढेर सुनाएको आरोप पाण्डेले लगाए । उनले चरीलाई अन्यत्र मारेर भीमढुंगामा लगेर फलिएको आरोप लगाए ।
‘एउटा नागरिकलाई अन्यत्रै मारेर त्यहाँ लगेर फालिएको छ, गृहमन्त्रीले पुलसिले लेखेको रिपोर्ट पढ्नुभएको हो’, पाण्डेले भने, ‘म आज चुप लागेर बसौंला, तर यो केस चुप लागेर बस्दैन,सभामुख महोदय ।’
प्रहरीको फरार सूचीमा रहेका चरीको बुधबार भीमढुंगामा प्रहरीसँगको मुठभेडमा ज्यान गएको थियो । एमालेले चरीको प्रहरीको जवाफी कारबाहीमा नभई पहिल्यै मारेर भीमढुंगामा लगेर लाश सार्वजनिक गरेको आरोप लगाउँदै आएको छ ।