काठमाण्डु, २३ साउन – युवा संघका अध्यक्ष महेश बस्नेतले प्रहरीलाई गुण्डाको संज्ञा दिदै गुण्डागर्दी गर्दै हिड्ने प्रहरीको समुहलेले हत्या गरेको बताएका छन् ।
‘चरी’ को गैह्रन्यायिक हत्या भएको भन्दै एमाले कार्यकर्ताले शुक्रबार शिक्षण अस्पताल महारागजञ्ज अगाडी एक घण्टा धर्ना कार्यक्रममा बस्नेतले यस्तो बताएका हुन् ।
चरीलाई कलंकीमा पक्राउ गरेर भिमढुङगामा लगेर गोली ठोकेर बर्बर ढङगले मारेको दावी गरेका छन् । मुद्धाको टुङगो लगाउन अदालत जाने तयारीमा रहेका चरीलाई गुण्डासँग पैसा असुलेर प्रहरीले मारेको उनको भनाइ छ ।
करोडौं घुस दिएर काठमाण्डु आएका हप्ता असुल्ने केही प्रहरीले चरीको हत्या गरेका उनको दाबी थियो । बस्नेतले भने ’उनको हत्या गर्न प्रहरीले गुण्डासँग मिलेर ६ महिनाअघिबाट योजना बनाएको पत्ता लगाएका छौं ।’
आफूहरु संयमितरुपमा प्रस्तुत भएको भन्दै बस्नेतले सरकारले आफूहरुको कुरा नजरअन्दाज गरे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए । ‘यो हत्याकाण्डको छानविन भएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्छ’ अध्यक्ष बस्नेतले भने – ‘निष्पक्ष छानविन गरिएन भने हामी एमालेका सबै भातृसंगठन मिलेर आन्दोलन चर्काउछौं ।’
युवा संघका अध्यक्ष बस्नेतले चरी हत्याकाण्डसँग जोडेर केही मिडिया एमाले अध्यक्ष केपी ओलीविरुद्ध नियोजितरुपमा लागेको आरोप लगाए । उनले भने –’मिडियाले समाचार लेख्ने हो, राजनीति गर्ने होइन । एमालेभित्र राजनीति गर्न खोज्ने मिडियालाई सच्चिन खबरदारी गर्छौं ।’
धर्ना कार्यक्रममा एमाले केन्द्रीय सदस्य खेम लोहनी, अनेरास्ववियुका उपाध्यक्ष ऐन महर र दिनेशका दाजु धु्रब अधिकारीले पनि बोलेका थिए । ध्रुव दिनेशको हत्याबारे छानविन नगरुन्जले शव नबुझ्ने बताए ।