चितवन, २३ साउन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा हाल देखिएको आन्तरिक विवादलाई दूधभातको संज्ञा दिएका
छन् ।
सासुको १३ औं दिनको तिथिमा सहभागी हुन गृहजिल्ला चितवन पुगेका उनले भरतपुरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी विवाद दूध भातजस्तै भएको टिप्पणी गरेका हुन् ।
उनले पछिल्लो विवादले पार्टी विभाजन नहुने दाबी गरे । उनले नेता बाबुराम भट्टराई पार्टी छाडेर नजाने उल्लेख गरे । भट्टराई र आफू विगत ३० वर्षदेखि राजनीतिक सहयात्रामा रहेको चर्चा गर्दै उनले आफूहरुले एकता, संघर्ष र रुपान्तरणको लामो अवधि पार गरेकाले पछिल्लो विवादलाई अनौठो रुपमा नलिन आग्रह गरे ।
‘बाबुरामजी र मबीच ३० वर्षदेखि एकता, संघर्ष र रुपान्तरणको प्रक्रिया चल्दै आएको छ’, प्रचण्डले भने, ‘तपाईंहरुका लागि नौलो लाग्ला, हाम्रा लागि त विवाद दूधभातजस्तै भइसकेको छ ।’
जिल्लाजिल्लामा समानान्तर कमिटी गठन गरेको भन्दै स्थायी समितिले भट्टराई पक्षधर नेता गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई कारबाही गरेपछि माओवादीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।