पतिसँगको सम्बन्ध खासै राम्रो थिएन । छोरा पनि अपांग जन्मियो । तनहुँ भिमादस्थित हिमालय उच्च माविमा प्लस टु पढेकी शोभा परियारलाई जीविका चलाउनै गाह्रो हुन थाल्यो । जीवनमा दुःखैदुःखभोगेकी उनले आफ्नै कमाइले परिवारमा सुख ल्याउने आशामा साउदी अरब जाने सोच बनाइन् । दुलेगौँडाका एजेन्ट कबिर वाक्स मियाँलाई रकम बुझाइन् र मुम्बई हुँदै तीन वर्षअघि पुगिन् अरब । ६० वर्ष पार गरेका बाबु भीमबहादुरर आमा बुद्धिसरालाई उनले साउदी जान लागेको बारे सुइँकोसमेत दिएकी थिइनन् । दलालले नै परिवारलाई ‘जानकारी नदिनू है’ भनेको हुनसक्छ । तर विदेशको जीवन त्यति सजिलो भएन । यता श्रीमानले पनि दोस्रो विवाह गरे ।
उता उनले काम गर्ने ठाउँमा यातना खप्न सकिनन् । गएको वर्ष साउन २ गते घरमा फोन गरीउनले भनिन्, ‘मालिक र मालिक्नीले साह्रै यातना दिए। म यहाँ बस्नै सकिनँ । लौ न मलाई फर्काइदिनु पर्यो ।’वृद्धावस्थाका आमाबाबु चिन्तित भए। शोभालाई साउदी पठाउने एजेन्टसँग सल्लाह गरे। १९ हजार रुपियाँ माग्यो उसलेn। छोरीको ज्यानभन्दा पैसा ठूलो हैन। ऋणपान गरेर १९ हजार जोहो गरेर बुझाए।तर छोरी फर्किनन्। गत वर्ष चैतमा अचानक शोभाले घरमा फोन गरेर भनिन्, ‘घर मालिकका दुई वर्षको छोरो मेरो हातबाट मर्न पुग्यो।
तर धन्दा नमान्नुस्, अहिले म जेलमा भए पनि साहुले वैशाखसम्म नेपाल फर्काइदिन्छु भनेर औँठाछापसहितको कागजात बनाइसके।’बाबुआमाले शोभालाई फर्काउन बुझाएको १९ हजार रुपियाँ बुझेको एजेन्ट मियाँलाई खोज्न थाले। तर मियाँ पनि गैरकानुनी रुपमा महिलालाई साउदी पठाउन खोजेको आरोपमा भैरहवाको जेलमा रहेछन्। ‘मनै जेलमा छु, के गर्न सक्छु र’ भनेपछि उनीहरु रुँदै घर फर्किए।शोभाले फोनमा मृत्युदण्डबारे केही बताएकी थिइनन्। तर पत्रपत्रिकामा मृत्युदण्ड हुनसक्ने भन्दै समाचार आएपछि आमाबाबु दिनरात आँसुमा डुबे।त्यसो भए पनि छोरीले म अब छिट्टै फर्कन्छु भनेकीले एउटा सानो आशा थियो ।
उनको जीवन रक्षा गर्न परिवारले राष्ट्रपति रामवरण यादवलाई सम्म गुहारे।तर, अब जिउँदी शोभा मात्र हैन, लाश समेत नेपाल आउने स्थिति छैन। सोमबार साउदीको अररा जिल्लामा बिहान साढे १० बजे शिरछेदन गरेर उनलाई मृत्युदण्ड दिइयो। विक्षत उनको शवलाई नेपाल नपठाइ त्यहीँको परम्परा अनुसार गाडिएको छ।नेपाली दूतावासका अनुसार शोभालाईमृत्युदण्डबाट बचाउन सक्दो प्रयास गरिएको हो। आफूमाथि भएको अत्याचारका कारण आवेशमा आउँदा यो घटना भएको जिकिर गर्दै सजाय कम गराउन र त्यहीँको कानुन अनुसार ‘ब्लडमनी’ लिन नेपाली दूतावासले गभर्नर तहसम्म प्रयास गर्यो।तर मृतक बालकको परिवारले मानेन।
तल्लो अदालतले गरेको फैसलालाई पुनरावेदन र सर्वोच्चले पनि सदर गरेपछि राजाको आदेशमा उनलाई मृत्युदण्ड दिइएको हो।स्थानीय बालज्योति प्राविमा ५ कक्षामा अध्ययनरत शोभाका १२ वर्षका छोरा दिवसको जन्मजात ओठ फाटेको थियो। शल्यक्रियापछि ओठ पुरिएको छ तर आवाज स्पष्ट छैन। अस्पष्ट आवाजमा उनले केही अघि पत्रकारहरुलाई भनेका थिए- ‘ममीले अस्ति फोनमा वैशाख अन्तिममा आउँछु भन्नु भएको छ। घर आउँदा साइकल ल्याइदिन भनेको छु।‘उनलाई थाहा छैन, अब साइकल आउने छैन, न त उनकी ममी नै आउने छिन्। उन की ममीको जीवन साइकलको चेन झै चुँडिसकेको छ l