काठमाण्डु, २२ साउन – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले डन दिनेश अधिकारी ‘चरी’ को हत्या षड्यन्त्रपूर्वक भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
चरीलाई पहिले मारेर भिमढुङगामा दोहोरो भिडन्तमा मारेको भन्ने प्रहरीको कपोकल्पित भनाइ प्रति असन्तुष्ट आफन्त र समर्थक कार्यकर्तालाई सम्वोधन गर्दै ओलीले पार्टी मुख्यालय घेर्न पुगेकालाई छानबिन हुने आश्वासन दिएका हुन् ।
सभासद राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी , भूमी त्रिपाठीसहितको जम्बो टोली पार्टी मुख्यालयमा नाराबाजी गर्दै पुगेको थियो ।
ओलीले कार्यकर्ताको कुरा सुनेपछि चरीको सुनियोजित हत्या भएकाले छानबीन समिति गठन हुनुपर्ने बताए । ‘यो सुनियोजित हत्या हो, सर्वदलीय संसदीय समिति वा अन्य निष्पक्ष छानबीन समिति गठन गर्नुपर्छ’ ओलीले भने ।