चरी अपरेशनका कमाण्डर भन्छन्, ‘उनी मारिएकामा दु:खी छु’

काठमाण्डु टुडे २०७१ साउन २२ गते ६:३४ मा प्रकाशित

यसरी भेटिए चरी

pushkar karkiहामीले पछिल्लो १० दिनयता फरार अभियुक्त र गुण्डागर्दीमा संलग्न व्यक्तिको खोजीलाई तीव्रता दिएका थियौं ।

काठमाण्डुबाट बाहिरिने नाकाहरुमा विशेष सतर्कता अपनाएर प्रहरी टोली परिचालित गरिएको थियो । त्यही क्रममा बिहीबार पनि सधैं झैं काठमाण्डु र धादिङको सीमानामा रहेको भीमढुंगा क्षेत्रमा प्रहरीको एउटा टोली पुग्यो । प्रहरी देख्ने बित्तिकै हेलमेट लगाएका एक व्यक्तिले शंकास्पद गतिविधि देखायो । उसलाई नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गर्‍यो र मोटरसाइकलमा भाग्न खोज्यो ।

प्रहरीको जवाफी कारबाहीमा उक्त व्यक्ति मारियो । घटनाको लामो समयसम्म सो व्यक्ति चरी हो भन्ने प्रहरीले भेउ पाउन सकेन । सायद चरी उक्त क्षेत्रमा पहिला पनि बस्ने गरेको थियो । हेलमेट खोलेर हेरेपछि उसलाई स्थानीयले चरी भएको बताए । त्यसपछि मात्र मारिएको व्यक्ति चरी हो भन्ने हामीलाई थाहा भयो ।
प्रहरीले आत्मरक्षा गर्दा घटना भयो
चरी नाम गरेका दिनेश अधिकारी भन्ने व्यक्ति प्रहरीको खोजी सूचीमा थिए । उनीविरुद्ध हत्या, लुटपाट, व्यापारीलाई धम्की दिएर चन्दा असुली गरेको जस्ता धेरै मुद्धा छन् । राधे भन्ने व्यीक्तको हत्या प्रयास गरेको आरोपमा उनीविरुद्ध मुद्धा दर्ता भएपछि ६ महिनाअघि भागेर दिल्ली गएका थिए । केही हप्ताअघि चितवनमा चरी देखिएको सूचना आएको थियो ।

काठमाण्डु पनि आवतजावत गर्ने गरेको सुइँको पाउने गरेका थियौं । तर त्यही इलाकामा चरी बस्छन् भन्ने सूचना थिएन । प्रहरीलाई देख्ने बित्तिकै उनले गोली चलाए । यदि बर्दीमा रहेको प्रहरीमाथि कोही जाइलाग्छ भने आत्मरक्षाका लागि प्रतिकार गर्नु प्रहरीको कर्तव्य हो । आफूमाथि आक्रमण भयो भने प्रत्याक्रमण गर्नु संसारभरको प्रहरीको धर्म हो । यो कानुनी प्रक्रिया नै हो । यो कुरा तालिमकै क्रममा पनि प्रहरीलाई सिकाइएको हुन्छ । यो शक्तिको सिद्धान्तअन्तर्गत पर्ने आधारभूत कुरा हो ।
राजनीतिक घटना होइन

चरी कुनै राजनीतिक मान्छे होइनन् । र उनीमाथि लागेको अभियोग पनि राजनीतक होइनन् । त्यसैले यसलाई कर्सैले पनि राजनीतिसँग जोड्नु हुँदैन । मलाई लाग्छ, यसलाई राजनीतिक रङ दिने कोसिस भएको छैन र हुनुपनि हुँदैन । हामीलाई कुनै राजनीतिक दबाब आएको पनि छैन । प्रहरीको कामै आपराधिक गतिविधिमा लागेकालाई नियन्त्रणमा लिने र कानुनी कारबाहीका लागि अदालतमा मुद्धा चलाउने हो ।

गोली नहानेको भए मर्ने थिएनन्
प्रहरीले शंकास्पद गतिविधि गरेपछि जसलाई पनि निगरानीमा राख्न र पक्राउ गरेर सोधपुछ गर्न सक्छ । उनको हकमा के भयो भने प्रहरी देख्ने बित्तिकै भागे र पिछा गर्ने क्रममा आक्रमण गरे । यदि प्रहरीमाथि गोली नचलाएको भए उनीमाथि हाम्रो तर्फबाट गोली हानिने थिएन । त्यसरी गोली नचलाएको भए पक्राउ गरेर कानुनी कारबाही गरिन्थ्यो । उनले हामीलाई त्यस्तो मौकै दिएनन् ।

चरी मरेकामा दुखी छु
अरु पनि धेरै गुण्डा नाइके प्रहरीले पक्राउ गरेको छ । चरीभन्दा ठूला भनिएका गुण्डा नाइके पनि कानुनी कारबाहीकै दायरामा छन् । सामान्य अवस्थामा प्रहरीले उनलाई मार्नुपर्ने कुनै कारण थिएन । उनले गरेका अपराधको सजाय उनैलेभोग्ने थिए । हाम्रो उनीसँग व्यत्तिगत दुश्मनी थिएन । तर प्रहरीमाथि कसैले गोली चलाउँछ भने त्यस्तो अवस्थामा प्रहरीले साधु बनेर गोली थाप्न सक्दैन । प्रतिकार गर्छ । प्रहरीको काम मान्छे मार्ने होइन । तर आत्मरक्षा गर्ने क्रममा उनी मारिए । मानवीय पक्षबाट हेर्दा कोही पनि मानिस मारिनु राम्रो होइन । प्रहरीको काम कानुन पालना नगर्नेलाई कानुनको दायरामा ल्याउने हो ।
बाँच्न पाउनु सबैको सार्वभौम मानवअधिकार हो । चरीले गोली नहानेको भए पक्राउ गरेर अदालत पुर्‍याइन्थ्यो ।
(महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीसँगको कुराकानीमा आधारित)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us