एमाले नेताले बामदेवलाई सोधे,‘चरी किन मार्‍यौ ?’

काठमाण्डु टुडे २०७१ साउन २२ गते ४:३९ मा प्रकाशित

काठमाण्डु, २२ साउन– चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएको bamdevविषयमा एमाले धादिङ नेतृत्वले गृहमन्त्री बामदेव गौतमको सातो खाएको छ ।
एमाले धादिङका कार्यबाहक अध्यक्ष भूमि त्रिपाठी नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बिहीबार बिहान पुलचोकस्थित मन्त्री क्वाटरमा भेटी गौतमसँग आक्रोश पोखेको हो ।

स्रोतका अनुसार त्रिपाठीले गौतमलाई एमालेकै नेतृत्वमा गृह मन्त्रालय रहेका बेला पार्टी कार्यकर्ता दिनदहाडै प्रहरीको गोलीबाट मारिनु गम्भीर विषय भएको बताएका थिए । उनले प्रहरीले नक्कली मुठभेडको कथा बनाएर चरीलाई पक्राउ गरेर अनकण्टार जंगलमा गोली हानेको  आरोप लगाए ।

त्रिपाठीले घटनामा संलग्न प्रहरीमाथि विभागीय कारबाही गर्न गौतमलाई दबाब दिए । ‘एमालेको उपाध्यक्ष देशको गृहमन्त्री हुने, अनि एमालेकै कार्यकर्ता दिनदहाडै नक्कली मुठभेडका नाममा प्रहरीको गोली खाएर मारिनुपर्ने ?’ त्रिपाठीको भनाइ उद्धृत गर्दै श्रोतले काठमाण्डु टुडेलाई भन्यो, ‘खुरुक्क छानबिन गर्नुस् दोषी प्रहरीमाथि कारबाही गर्नुस् ।’ उनले प्रहरीको बर्दी लगाएर अपराध गर्नेलाई छाडिए अवस्था भयावह हुने चेतावनी गौतमलाई दिए ।
जवाफमा प्रहरीले गरेको कारबाहीबारे अहिल्यै केही भन्न नसकिने भन्दै बुझ्ने बताएका छन् ।

टोलीमा चरीका पारिवारिक सदस्यका साथै एमालेका चार सभासद गौतम निवास पुगेका थिए ।
यसरी बामदेवलाई थर्काउन जाने टोलीमा एमाले नेता एवम् धादिङ–३ का सभासद राजेन्द्र पाण्डे, पूर्वमन्त्री एवम् एमाले नेता गंगालाल तुलाधर, धादिङ–१ का सभासद गुरुप्रसाद बुर्लाकोटी र क्षेत्र नम्बर–३ का सभासद धनबहादुर घले, केन्द्रीय सदस्य खेम लोहनी र कार्यबाहक अध्यक्ष त्रिपाठी लगायत थिए ।

धादिङ त्रिपुरेश्वरका स्थायी बासिन्दा चरी एमाले क्षेत्र नम्बर–१ का पूर्वउपाध्यक्ष हुन् । हत्या आरोपमा प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका चरी काठमाण्डु र धादिङको सीमाना भीमढुंगामा बुधबार साँझ प्रहरीसँगको मुठभेडमा मारिएका थिए ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us