
नयाँ दिल्ली, २१ साउन – एयर इन्डियाको विमानमा मुसा भेटिएपछि आकस्मिक अवतरण गरिएको समाचार छ ।
बुधबार सो घटना भएको बताइएको छ । उक्त विमान नयाँ दिल्लीबाट कलकत्ता जादै थियो । उडेको केही क्षणमै विमानको क्याबिनमा मुसा भेटिएको थियो ।
त्यसपछि सो विमान फर्काएर आकस्मिक अवतरण गराइएको हो । विमानको क्याबिनमा मुसा भेटिएको खबर पाएपछि चालकले खतरा मोल्न नचाहेको र विमान अवतरण गराएको बताइएको छ ।
जहाजमा मुसा भेटिएमा त्यसले हवाईजहाजका पार्ट पूर्जा र मुख्यगरी तार काट्नसक्ने र जसका कारण विमानको नियन्त्रण नै गम्न सक्ने खतरा रहन्छ ।
उक्त विमानका कुनैपनि अधिकारी प्रतिक्रियाका लागि उपलब्ध नभएको र एकजना अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सो विमानमा मुसा भेटिएका कारण अकस्मिक अवतरण गराइएको पुष्टि गरेको भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ ।
भारतीय विमानमा मुसा भेटिने घटना बारम्बार हुने गर्दछ । यसअघि पनि कयौं पटक जहाजमा मुसा भेटिएकोले जहाज ग्राउन्डेड गराइएको र उडान नै रद्द गरिएको छ ।
प्राय जहाजका यात्रुलाई दिइने खानाका प्याकेटहरु (लन्च बक्स) बोक्ने भ्यानमा नै खानाको गन्धका कारण मुसा पछि लाग्ने गर्दछन् । पछि सोही भ्यानबाट नस्किएर ती मुसा जहाजमा नै छिर्ने गर्छन् । एएफपी