काठमाण्डु, २१ साउन– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले आफू पक्षधर नेतामाथि गरिएको कारबाही फिर्ता नभए केन्द्रीय
समिति बैठक बहिस्कार गर्ने चेतावनी दिएको छ ।
ललितपुरको सानेपास्थित नेता भट्टराई निवासमा मुधबार बसेको सो पक्षका नेताहरुले बैठकले कारबाही फिर्ता नभए बैठक बहिस्कार गर्ने निर्णय गरेको हो । बैठकले कारबाही अस्वीकार गर्दै फिर्ताका लागि आग्रहसमेत गरेको छ ।
एमाओवादी आगामी १० भदौमा केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार बसेको स्थायी समिति बैठकले पार्टी नीतिविपरीत विभिन्न जिल्लामा समानान्तर कमिटी बनाएको भन्दै भट्टराई पक्षका पोलिट्ब्युरो सदस्य ग्रगानारायण श्रेष्ठलाई तीन महिना र रामरिझन यादवलाई एक महिना निलम्बन गरेको थियो ।
‘साथीहरुमाथि भएको कारबाही फिर्ताका लागि आग्रह गर्ने कुरा भयो’, नेता देवेन्द्र पौडेलले भने, ‘कारबाही फिर्ता नभए भदौ १० गते बस्ने केन्द्रीय समिति बैठमा जाँदैनौं ।’
बैठकमा नेता बाबुराम भट्टराईले संविधानसभाबाट संविधान जारी नगर्ने नियतका साथ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रेष्ठ र यादवमाथि कारबाही गरेको ब्रिफिङ गरेका थिए । बैठकमा भट्टराईका साथै देवेन्द्रं पौडेल, हिसिला यमी, नवराज सुवेदी, प्रभु साह र गंगा श्रेष्ठ थिए ।