मह उत्पादनमा चार सय ५० मेट्रिकटनले वृद्धि

काठमाण्डु टुडे २०७१ साउन १९ गते ११:५१ मा प्रकाशित

ललितपुर, १९ साउन – गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा ४५० मेट्रिक टनले वृद्धि भएको छ । गत वर्ष एक हजार ६०० मेट्रिक टन मह उत्पादन भएको थियो ।

मौरीको मह उत्पादनका लागि यस वर्ष उपयुक्त वातावरण नभएकाले मह उत्पादनमा कमी आउने देखिएको भए पनि मह व्यवसायीहरुले मौरीको गोलामा वृद्धि गरेकाले अनुकूल वातावरण बिना पनि यस वर्ष मह उत्पादनमा वृद्धि भएको मह व्यवसायी सङ्घका अध्यक्ष धर्मराज श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनका लागि राम्रो मानिने एपिसमेलिफेरा मौरी अर्थात् युरेपियन मौरी १० हजार गोलाले वृद्धि भएकाले मह उत्पादनमा वृद्धि भएको हो । यस वर्ष दुई हजार ५० मेट्रिकटन मह उत्पादन भएको छ ।

उनका अनुसार गत वर्ष एपिसमेलिफेरा मौरी २५ हजार गोला रहेको थियो भने यस वर्ष १० हजार गोला मौरी थपिएसँगै ३५ हजार गोला भएको छ ।

एपिसेरेना मौरीले मह उत्पादन कम गर्ने भएकाले यस मौरीको गोला सङ्ख्या एक लाख २५ हजार रहेको छ गत वर्ष पनि यस मौरीको गोला सङ्ख्या यति नै रहेको थियो । मह उत्पादन गर्ने हिसाबले एपिसमेलिफेरा मौरी राम्रो मानिन्छ ।

एपिसमेलिफेरा जातको मौरीको एक गोलाबाट एक वर्षमा ६० देखि ११० केजी मह उत्पादन हुने गरेको छ भने एपिसेराना जातको एउटा गोलाले एक वर्षमा ३० देखि ४० केजी मह उत्पादन गर्ने गर्दछ ।

मह व्यवसायीका अनुसार नेपालमा खपत हुने महको आधामात्र परिमाणमा स्वदेशमा उत्पादन हुने गरेको छ बाँकी महका लागि छिमेकी मुलुक भारतबाट ल्याइने गरिन्छ । महको औषधि गुण र पौष्टिक दृष्टिले अमृत नै मानिन्छ ।

एपिसेराना लामो समयदेखि प्रचलनमा रहेको भए पनि एपिसमेलिफेरा जातको मौरी नेपालमा प्रयोग हुन थालेको २० वर्षमात्र भएको छ ।

विसं २०५० मा भारतबाट ल्याएर व्यावसायिकरुपमा सुरु गरिएको हो । एपिसमेलिफेरा मौरीलाई पाल्नका लागि नेपालको भित्री मधेस र तराईमा उपयुक्त हुने मौरीपालन विकास शाखा गोदावरीका कार्यालय प्रमुख सावित्री बरालले बताइन् ।

प्रमुख बरालका अनुसार मौरीले मह उतपादन गर्ने महिनाहरु तराई र भित्री मधेसमा कात्तिकदेखि फागुन महिनासम्म पहाडी क्षेत्रमा भने जेठसम्म मह उत्पादन हुने गर्दछ ।

विशेषगरी मौरीको राम्रो चरन क्षेत्रका रूपमा दाङ, प्युठान, नवलपरासी, सर्लाही, रूपन्देही, कपिलवस्तुलगायतका जिल्लाहरू पर्छन् ।

भदौदेखि जेठको पहिलो सातासम्म मौरीलाई चराउन चरन क्षेत्रमा लगिने गरिन्छ । मौरीले चिलाउने, चिउरी, जामुनो, कटुस, तोरी, रुदिलोलगायतका वनस्पतिको फूल राम्रो मान्दछ ।

हाल नेपालमा आधुनिक मानिने एपिसमेलिफेरा र एपिसेरना दुई जातको मौरी पालिँदै आएको छ ।

सरकारले मौरीपालन क्षेत्र निर्धारण गरी क्षेत्रीयस्तरमा तालिम प्राप्त विज्ञहरू उत्पादन गर्ने र एपिसमेलिफेरा मौरीले मह उत्पादन धेरै गर्नसक्ने भएकाले एपिसेरेना भन्दा एपिसमेलिफेरा जातको मौरी पाल्नका लागि व्यवसायीलाई आकर्षण गराउनसके मह उत्पादनमा अझै सुधार आउने थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us