मायाकुमारी फर्केपछि झन् राम्ररी चलेको छ कतारी दूतावास

काठमाण्डु टुडे २०७१ साउन १६ गते १०:२० मा प्रकाशित

काठमाण्डु– कुटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मा फिर्ता बोलाइएपछि पनि tb karkiत्यहाँस्थित दूतावास राम्रैसँग चलेको छ ।
कतार नेपालीहरुका लागि खुला जेल भएको विवादास्पद अभिव्यक्ति दिएपछि विवादमा आएकी उनलाई सरकारले गत अक्टुबरमा फिर्ता बोलाएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टिबी कार्कीले राजनीतिक नियुक्ति पाएका राजदूतको तुलनामा कर्मचारीले राम्रैसँग दूतावास चलाएको बताए ।

मायाकुमारी आएपछि कतारको कार्यबाहक राजदूतको जिम्मेवारी उपसचिव गणेशप्रसाद ढकालले सम्हाल्दै आएका छन् । ‘राजदूतको अभावमा पनि राम्रैसँग काम भइरहेको छ’, कार्कीले भने, ‘मेरो उद्देश्य कसैको अपमान गर्नु र कसैलाई उचाल्नु होइन, तर अहिले दूतावास राम्ररी चलेको छ ।’
यद्यपि सरकारले कतारमा तत्काल राजदूत पठाउनुपर्ने उनले बताए ।

कार्कीले राजनीतिक पृष्ठभूमिका व्यक्ति नभई परराष्ट्र सेवाका कर्मचारीलाई राजदूत बनाएर पठाउन माग गरे । ‘राजनीतिक नियुक्तिभन्दा परराष्ट्र सेवाबाट राजदूत पठाउँदा राम्रो हुन्छ’, कार्कीले भने, ‘त्यसमा पनि कार्यकाल सकिएको होइन, सेवाअवधि बाँकी रहेकै कर्मचारी हुनुपर्छ ।’

परराष्ट्र सेवाकाले कुटनीति र शिष्टाचार बुझेको हुने भन्दै उनले काम गर्न सजिलो हुने बताए । तर राजनीतिक नियुक्ति पाएका राजदूतको आधा कार्यकाल कुटनीति बुझ्नमै खर्च हुने कार्कीको भनाइ छ ।
कार्कीले ५ लाख नेपाली रहेको कतारमा कर्मचारी अभाव भएकाले तत्काल पदपूर्ति गर्न पनि माग गरे । ‘एक लाख नेपाली बराबर एक श्रम सहचारी हुनुपर्ने हो’, कार्कीले भने, ‘तर एक जना मात्र श्रमसहचारीको भर पर्नुपर्ने अवस्था छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us