काठमाण्डु , १५ साउन – देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा जाने नेपालीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ ।
आर्थिक वर्ष २०५०–५१मा तीन हजार ६०५ जनामात्रै वैदेशिक रोजगारीमा गएकामा पछिल्लो आव २०७०–०७१ सम्म आइपुग्दा त्यो सङ्ख्या पाँच लाख २७ हजार ८१४ जना पुगेको छ ।
गएको आव २०७० साउन १ देखि २०७१ असार मसान्तसम्म बिदेसिनेमध्ये चार लाख ९८ हजार ४४६ जना पुरुष र २९ हजार ३६८ जना महिला रहेका छन् ।
वैदेशिक रोजगारीमा जानेको तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ४३ हजार ९८४ रहेको छ भने प्रत्येक दिन एक हजार ४४६ नेपाली बिदेसिने गरेका छन् ।
आव २०६९–७० मा चार लाख ५३ हजार ५४३ जना वैदेशिक रोजगारीमा गएकामा गएको आवमा ७४ हजार २७१ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएका हुन् ।
गएको आर्थिक वर्षमा सबैभन्दा बढी असार महिनामा ६१ हजार ७१७ जना वैदेशिक रोजगारीमा गएका छन् भने सबैभन्दा कम भदौ महिनामा २४ हजार १६४ जना वैदेशिक रोजगारीमा गएका छन् ।
विभागका प्रवक्ता बद्रीकुमार कार्की देशमा पर्याप्त रोजगारीको अवसर सिर्जना नहुनु, छिमेकीको देखासिकीले उत्प्रेरित हुनु र गन्तव्य मुलुकबाट रोजगारीको ठूलो सङ्ख्यामा माग हुनुले बिदेसिने सङ्ख्या बढेको बताउछन् ।
वैदेशिक रोजगार व्यवसायी पदमराज पौडेल नेपालमा राजनीतिक अस्थिरता बढ्नु र विश्व श्रम बजारमा रोगजारीको अवसर बढ्दै जानु बिदेसिने कारण मान्छन् ।
पछिल्लो समय नेपाली कामदारहरू दक्ष हुँदै गए पनि नेपाली कामदारलाई अदक्ष ठान्ने सरकारी नीतिका कारण दक्ष र प्राविधिक क्षेत्रका कामदारहरू सहज रूपमा वैदेशिक रोजगारीमा जान नपाएको उनी बताउछन् ।
वैदेशिक रोजगार विभागमार्फत रोजगारका लागि स्वीकृत लिएर जानेको सङ्ख्या पाँच लाख २७ हजार ८१४ जना भए पनि विभागको स्वीकृत बेगर जाने, पढ्नका लागि भनेर गएर काम गरेर बस्ने र भारतीय भूमि भएर जाने नेपाली कामदारको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको विभागका प्रवक्ता कार्कीले जानकारी दिए ।
वैदेशिक रोजगारीका लागि भारत हुँदै बर्सेनि करिब एक लाख नेपाली कामदार जाने अनुमान गरिए पनि उनीहरूको विवरण नेपाल सरकारसँग छैन ।
विशेषगरी नेपाली महिला कामदारलाई खाडीलगायतका देशमा रोजगारीका लागि कडाइ गरेकाले दलालहरूले भारत हुँदै ती मुलुकमा महिलालाई ओसारपसार गरिरहेका छन् ।
वैदेशिक रोजगारीको १० वर्षे तथ्याङ्क
पछिल्लो दशवर्षको तथ्याङ्कले प्रत्येक वर्ष बिदेसिनेको सङ्ख्या उल्लेख्य मात्रामा बढेको देखाएको छ ।
आर्थिक वर्ष सङ्ख्या
आव २०६१–६२ १,३९,७१८
आव २०६२–६३ १,६५,२५२
आव २०६३–६४ २,०४,५३३
आव २०६४–६५ २,४९,०५१
आव २०६५–६६ २,१९,९६५
आव २०६६–६७ २,९४,०९४
आव २०६७–६८ ३,५४,७१६
आव २०६८–६९ ३,८४,६६५
आव २०६९–७० ४,५३,५४३
आव २०७०–७१ ५,२७,८१४
पछिल्लो समय विदेशबाट नेपाल फर्किएका गाउँघरमै गाईपालन, कुखुरापालन, बाख्रापालन, तरकारीखेतीलगायत विभिन्न नयाँ प्रविधि निर्माणसमेतको काम गर्न थालेका छन् ।
जसले विदेशमा सिकेको सीपको स्वदेशमै प्रयोग गर्ने वातावरण र बिदेसिने परम्परालाई केही हदसम्म कम गर्ने आशा गर्न सकिन्छ ।