गिट्टी बालुवा बेच्ने इजाजत लिन सडकमा

काठमाण्डु टुडे २०७१ साउन १५ गते १०:२० मा प्रकाशित

मेलम्ची, १५ साउन – इन्द्रावती नदीको बगरमा रहेका नौ वटा बालुवा गिट्टी क्रसर उद्योगले वातावरण तथा विकास पूर्वाधारलाई क्षति पु¥याएको आरोप लगाउँदै ती उद्योग हटाउन युवा सङ्घर्षमा उत्रेका छन् ।

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न भागमा इन्द्रावती नदीको बगरबाट बालुवा गिट्टी झिकेर काठमाण्डु उपत्यकामा आपूर्ति गर्दै आएका ती उद्योगले नदी क्षेत्रमा स्काभेटर प्रयोग गरेर बालुवा गिट्टी सङ्कलन गर्ने गरेको, सार्वजनिक बगर क्षेत्र अनधिकृत रुपमा अतिक्रमण गरेको, आवास क्षेत्रमा ध्वनि र वायु प्रदूषण बढाएको र हेलम्बू राजमार्गलाई क्षति पु¥याएको आरोप उनीहरुको छ ।

 इन्द्रावती नदी आसपासका क्रसर उद्योगको अनुमति नवीकरण नगर्ने भनी जिल्ला विकास समिति काभ्रेपलाञ्चोकले निर्णय गरिसकेको छ भने सिन्धुपाल्चोक जिल्ला विकास समितिले चाहिँ हालसम्म कुनै निर्णय गरेको छैन ।

 सिपाघाट बजारका युवा किशोर विद्याधरका अनुसार इन्द्रावती नदी क्षेत्रका क्रसर उद्योगका कारण दुई वटा ठूला पुल, करिब दुई दर्जनभन्दा बढी सिँचाइ कुला तथा पाँचखाल–मेलम्ची पक्की सडक २३ को किलोमिटर भाग नराम्रोसँग क्षति भएको छ । साथै जल प्रणाली बिग्रनाले जलचर प्राणीसमेत नदीबाट हराउँदै गएका छन् ।

 इन्द्रावती नदी क्षेत्रका क्रसरबाट दिनमा ८० भन्दा बढी टिपरले उपत्यकामा बालुवा र गिट्टी ओसार्ने गरेका छन् । जिल्ला विकास समिति सिन्धुपाल्चोकले पनि सो क्षेत्रबाट क्रसर उद्योग बन्द गर्ने सम्बन्धमा सोचिरहेको स्थानीय विकास अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् । मापदण्ड विपरीत क्रसर उद्योगले ओगटेको सार्वजनिक बगर खाली गराउन र वातावरण प्रदूषण घटाउन अनुगमन सुरु गरिसकेको उनले बताए ।

 इन्द्रावती नदी क्षेत्रमा बसोवास गर्ने विशेष गरी माझी तथा दनुवार जातिको दिनचर्यालाई क्रसर उद्योगले नराम्ररी प्रभावित गरेकाले सङ्घर्षमा उत्रनुपरेको बाँसबारीका माझी समुदायका अगुवा जिमिलाल माझीले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us