इजरायलको मानवताविरोधी क्रियाकलापविरुद्ध हस्ताक्षर

काठमाण्डु टुडे २०७१ साउन ८ गते १०:१३ मा प्रकाशित

काठमाण्डु, – इजरायलले प्यालेस्टिनी नागरिकमाथि गरेको मानवताविरोधी गतिविधिविरुद्ध नेपालका साहित्यकार, कलाकार तथा पत्रकारहरुले हस्ताक्षर सङ्कलन गरेका छन् ।

बिहिबार करिब एक सय जनाले हस्ताक्षर गरी उक्त कार्यको विरोधमा ऐक्यबद्धता जनाएका हुन् ।

हस्ताक्षरको सुरुवात साहित्यकार खगेन्द्र सङ्ग्रौलाले गरेका थिए । हस्ताक्षर गर्नेमा साहित्यकार सङ्ग्रौलासहित श्यामल, कलाकार सुनिल पोखरेल, दयाहाङ राई, राजन खतिवडा तथा विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकाका पत्रकारहरु थिए ।

साहित्यकार सङ्ग्रौलाले उक्त सङ्कलित हस्ताक्षर कुनै पनि राजदूतावास वा अन्य निकायमा नबुझाइने तर मिडियामार्फत सार्वजनिक गरिने बताए ।
सो अवसरमा प्यालेस्टिनी कवि महमुद दाहरिकको कवितालाई नेपालीमा वाचन गरिएको थियो ।

विरोध स्वरुप दिउँसो ३ देखि ४ बजेसम्म संयुक्त राष्ट्र सङ्घको नेपालस्थित कार्यालय हरिहरभवनमा धर्ना दिने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us