मौद्रिक नीतिप्रति बैंकर्सहरु असन्तुष्ट

काठमाण्डु टुडे २०७१ साउन ४ गते १२:२५ मा प्रकाशित

काठमाण्डु , ४ साउन – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका विषयमा निकै विवाद चर्किदै गएको अबस्थामा बैकर्सहरुले बैंकका संचालक र सीइओको अवधि तोकिनु दुखद भएको भन्दै सो को विरोध गरेका छन् ।

bankersआइतबार मिडिया इन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा बोल्दै बैंकर्स र निजी क्षेत्रका व्यक्तिहरुले मौद्रिक निति सन्तुलन अबस्थामा रहेको भए पनि बैंकिङ क्षेत्रलाई अनावश्यक कसीकसाउ गर्नु सकारात्मक नभएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ बैैकिङ्ग विभागका सभापति शंकर पाण्डेले राष्ट्र बैंकले सार्वजानिक गरेको मौद्रिक नीतिमा निजीक्षेत्रले सोचेका धेरै कुरा समेटिएको भए पनि बैंकको सीइओ र संचालक समितिको अबधि तोक्नु गलत भएको बताए ।

पहिले आउने गरेको मौद्रिक नीतिमा बैंकहरुलाई मात्र प्राथमिकतामा राख्ने गरेको अबस्थामा अहिलेको मौद्रिक नीतिमा निजी क्षेत्रहरुले सोचेका धेरै कुरा समाबेश भएको बताउँदै अहिलेको मौद्रिक नीतिले साना उद्योगहरुलाई पनि प्राथमिकतामा राख्नु सकारात्मक पक्ष रहेको बताए ।

हाइड्रो, टुरिजम, कृषिलाई मौद्रिक नीतिले प्राथमिकतामा राख्नु सकारात्मक पक्ष भएको उनको भनाई थियो । पाण्डेले बैकका सिइओको कार्यकाल २ बर्षे राख्नु न्यायोचित नरहेको र यो व्यबहारिक पनि हुन नसक्ने बताए । तर समग्रमा अहिले सार्वजानिक भएको मौद्रिक नीति निजीक्षेत्रको भावनालाई समेटेकोमा निजीक्षेत्र खुसी रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै डेपलपमेन्ट बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछानेले बैंकको सीइओ र संचालकको अवधि तोकीनुले बैंकहरु सफल नहुने बताए । उनले खराव सिइओ वा संचालकलाई बैंक आफै वा राष्ट्र बैंकले कार्बाही गर्न सक्ने आधार हुँदा हुँदै पनि अवधि तोकिनु दुखद भएको बताए । तथापी बैकिङ्गक्षेत्रमा हुने गरेको तरलतालाई समावेश गरेकोमा बैकर्सहरु उत्साहित रहेको उनले बताए ।

अहिलेको मौद्रिक नीतिले बैकिङ क्षेत्रमा हुने गरेको तरलतालाई ध्यान दिएको भन्दै कृषि क्षेत्रमा मौद्रिक नीतिले निकै राम्रो बातावरण सृजना गरिदिएको उनको भनाई थियो । दुईबर्ष भन्दा बढि बैकको सिइओ पदमा बस्न नपाउने ब्यबस्था अनुचित नरहेको बताउँदै उनले यो नीयमपछि बैंकमा सीइओ र संचालक सुरक्षित नभएको भन्दै बैंकमा लगानीगर्नेहरुलाई यसले निरुत्साहीत गरेको बताए ।

कार्यक्रममा बोल्दै अर्थविद डा. डिल्लीराज खनालले मौद्धिक नीतिले उत्पादनशिलक्षेत्रमा जोड दिएको र यो सकारात्मक पक्ष रहेको बताए । अहिलेको मौद्रिक नीतिले कृषि क्षेत्रमा लगानी बढाउन राष्ट्र बैकले राम्रो भुमिका निर्वाह गरेको बताए ।

अर्थवीद खनालले पूर्व छलफलबाट मौद्रिक नीति आएको भए उपयूक्त हुने भन्दै मौद्रिक नीति ल्याउनु अघि प्रयाप्त छलफल नहुनु पनि दुखद भएको बताए । उनले मौद्रिक नीति कसीलो आएका कारण बैंकहरुलाई काम गर्न केही कठीन हुन सक्ने बताए । मौद्रिक नीतिका अन्य विषयहरु सकारात्मक भएको उनको टिप्पणी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us