उपनगरपालिकाको आर्थिक कारोवार ठप्प

काठमाण्डु टुडे २०७१ साउन ४ गते १२:०४ मा प्रकाशित

ललितपुर , ४ साउन – ललितपुर उपमहानगरपालिकाले लिँदै आएको राजस्व साउन १ गतेदेखि उठाउन नपाउँदा करिब २५ लाख गुम्न गएको राजस्व प्रशासन महाशाखाका शाखा अधिकृत डिल्लीराज शाक्यले बताएका छन् ।

प्रत्येक वर्ष जस्तै कार्यालयको कम्प्युटर प्रणालीमा गरिँदै आएको सफ्टवेयरको नवीकरण हुन नसक्दा समस्या आएको अधिकृत शाक्यले जानकारी दिए ।

कार्यालयले दैनिक रुपमा करिब सात लाख राजस्व उठाउँदै आएकामा आजसम्मको अवस्थामा सो रकम नोक्सानी भएको हो । वार्षिक रुपमा कार्यालयले करिब २० करोड राजस्व उठाउँदै आएको उनले बताए ।

कार्य सम्पादनको मूल्याङ्कनका आधारमा कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने विषयमा विवाद भएपछि प्रमुख कार्यकारी अधिकृत मोहननाथ मास्के असार २१ बाट कार्यालयमा अनुपस्थितिका कारण सो समस्या आएको ललितपुर उपमहानगरपालिका नेपाल कर्मचारी एसोसिएसनका अध्यक्ष एवम् नक्सा फाँटका शाखा अधिकृत ज्ञानुरत्न महर्जनले बताए ।

प्रमुख अधिकृत मास्केको अनुपस्थितिका कारण कार्यालयमा हुने सबै योजना अलपत्र परेको चर्चा गर्दै भुक्तानी दिनका लागि चेक कारोबार ठप्प भएकाले सफ्टवेयरको नवीकरणका लागि दिनुपर्ने भुक्तानी दिन नसक्दा कम्प्युटर प्रणाली सञ्चालन नभएको अध्यक्ष महर्जनले खुलासा गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us