
काठमाण्डु, ४ साउन –पार्टीमा कार्यकारी पदबाट बिदा भएका एमाले निवर्तमान अध्यक्ष झलनाथ खनालको अबको बाटो कुन होरु आकर्षक व्यक्तित्वका धनी नेतामध्ये अग्रपंक्तिमा पर्ने खनालले जबाफ दिए, अब म पार्टीको कार्यकारी पदतिर फर्किन्नँ। राज्य, जनता र पार्टीले मेरो योग्यता र क्षमताले भ्याउने जिम्मेवारी दिए वहन गर्न तयार छु।
दोस्रो संविधानसभा निर्वाचनयता पार्टीभित्र कार्यकारी पदबाट सम्मानजनक बिदाइ गर्न खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा चल्ने गरेको छ।
यसबारे खनाल भन्छन्, मेरो केही भन्नु छैन, मैले जीवनभर पदको आस गरिनँ र अब पनि छैन। आफ्नो योग्यता र क्षमताको प्रयोग पार्टीले गर्न खोजे तयार रहेको पनि उनले बताए। अब राष्ट्रपतिलगायत सर्वोच्च पदतिर जाने हो तरु उनको जबाफ थियो, समयले कुनै जिम्मेवारी दिन्छ भने दायित्व निर्वाह गर्न सक्षम छु।
चार दशकअघि कम्युनिस्ट राजनीति सुरु गरेका खनालले तीनपटकसम्म पार्टी नेतृत्व गर्दै कार्यकारी पदबाट विश्राम लिएका हुन्। एमालेको बिहीबार सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनपछि खनालको कार्यकारी पद केपी ओलीमा हस्तान्तरण भएको छ। निवर्तमान अध्यक्ष स्वतस् वरिष्ठ नेता हुने पार्टी विधानको प्रावधानअनुसार खनाल शुक्रबारको पहिलो बैठकमा उपस्थित थिए। केहीबेर बसेर स्वास्थ्य उपचारका लागि भन्दै निस्किएका खनालको भूमिका आलंकारिक ढंगको थियो। उनको यो भूमिका २०६१ माघ १९ यता पहिलोपटक हो। तीनपटक पार्टी प्रमुख र एकपटक मुलुकको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री भएका खनालले पछिल्लोपटक पार्टीको नेतृत्व समाल्दा संविधानसभामा एमालेको स्थान दह्रो बन्यो। ६५ वर्षीय खनाल उमेरका हिसाबले पनि अझै एक दशक सक्रिय रहन समस्या देखिन्न।
केही समयअघि प्रोस्टेस्टको शल्यक्रिया गराएका उनले शनिबारदेखि केही दिन आराम गर्नेछन्। यही आरामका बीच उनले अध्ययन, लेखनजस्ता सिर्जनशील काममा दिन बिताउनेछन्। उनी आफ्ना सहयात्री तथा नेकपा मालेका संस्थापकमध्येका एक सहिद रत्नकुमार बान्तवादेखि आफ्नो जीवनकालमा भेटेका र संगत गरेका विभिन्न राजनीतिक व्यक्तिका स्मृतिलाई लिपिबद्ध बनाउँदैछन्। तीन सय पृष्ठ लामो हुने उक्त पुस्तकको पाण्डुलिपि तयार भएको जानकारी पनि उनले दिए।
पार्टीभित्रका सांगठनिक, वैचारिक र अन्य चुनौती पार गर्न सहयोग दिइरहने उनले बताए। उनका लागि महत्त्वपूर्ण चुनौती महाधिवेशनभर रहेको पार्टी प्यानलको तुस मेटाउनु हो। अध्यक्ष भएका बेलाभन्दा अत्यन्त कम भेटघाट गर्ने र अध्ययन अवधि बढाउने उनको योजना छ।
केही वर्षयता देख्न थालेको सपना पूरा गर्ने लक्ष्य पनि खनालले राखेका छन्। त्यो सपना प्राचीनकालका गणराज्यको खोजी हो। त्यतिबेला यहाँ शाक्य र कोली गणराज्य रहेको र भारत तथा संसारभर झन्डै २० वटा गणराज्य भएको पत्ता लागेको खनालले बताए। ुपश्चिमाहरू गणतन्त्रको उत्पत्ति रोम र एथेन्सबाट भएको मान्छन्, हामीले भने नेपालमै पहिलो गणराज्य रहेको प्रमाणित गर्न सक्न आधार फेला परेका छन्, उनले भने।
२००६ चैत ६ गते इलामको साँखेजुङमा जन्मिएका खनालमा इलामको पब्लिक हाइस्कुल भर्ना हुँदादेखि नै वामराजनीतिको चस्का पसेको थियो। विद्यालय तह सकेर आईएस्सी पढ्न २०२५ सालमा काठमाडौं आएका खनाललाई पढ्ने क्रममा भएको सरकारी व्यवहारले विद्रोही बनाइदिएको थियो। राम्रो ढंगले आईएस्सी पास गर्छु भन्ने थियो तर केन्द्र नै रद्द गरियोु, उनी सम्झन्छन्। विद्यार्थीले उक्त निर्णयविरुद्ध संघर्ष गरेर फेरि परीक्षा लिन प्रशासनलाई बाध्य बनाएका थिए। त्यतिबेलाका चार सय २९ जना परीक्षार्थीमध्ये खनालसहित चारजनामात्र उत्तीर्ण भएका थिए। यो प्रकरणले उनको जीवनमा ठूलो मोड ल्याइदियो। पञ्चायतभित्रको शैक्षिक अराजकता र प्रतिभा रेट्ने प्रवृत्ति देखेपछि व्यवस्था उखेल्नुपर्छ भन्दै म राजनीतिमा लागेुं, उनले भने।
उनले राजनीति सुरु गर्दा देशको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न थियो। तर उनले मनमोहन, मोहनविक्रम, शम्भुरामलगायतसँग आन्दोलन एकीकृत गर्नेु भन्दै भेट गर्न थालेका थिए। त्यसैका लागि बागलुङका चित्रबहादुर केसीसँग पनि भेट गर्न पुगे उनी। त्यतिबेला उनी शिक्षक थिए। सरकारले बागलुङबाट उनलाई मेची पुर्याइदियो। त्यहाँ पनि संघर्ष गर्दै अघि बढिरहेका खनालले झापाली र मोरङका युवाहरूको संगत गरे र २०३२ सालमा कोअर्डनेसन केन्द्र बनाउन महत्त्वपूर्ण योगदान गरे।
विभिन्न समूहबीच एकता गरी २०३५ सालमा नेकपा माले बनाउने अभियानमा पनि उनी सरिक भए। बिस्तारै संकटका बेला पार्टीको जिम्मेवारी लिने खनालको पहिचानजस्तै बन्यो। माले बन्नुअघि २०३३ सालमा केन्द्रका महासचिव सीपी मैनाली गिरफ्तार भएपछि उनैले कार्यवाहक चलाउनुपरेको थियो। उनी त्यही समयमा दुई वर्ष जेल बसेका थिए। जब पार्टीमा अरूका बारे निर्णय गर्ने स्थिति हुँदैन त्यसबेला झलनाथ चाहिन्थ्यो, उनले विगत सम्झिए। उनी २०३९ सालमा मालेका महासचिव भएका थिए।
२०४६ साल असारसम्म रहेको त्यस कार्यकालमा नीति सिद्धान्तका थुपै विषयमा पार्टी प्रस्ट भएको उनले बताए। त्यसबेला उनी महासचिव थिए तर भित्रभित्रै मदन भण्डारीको उदय भइरहेको थियो। त्यसबेला सैद्धान्तिक बहस गर्ने मेरा नजिकका साथी मदन भण्डारी थिए, उनले भने।
समन्वयकारी नेताको भूमिकामा पनि त्यसै बेलादेखि देखिन थालेका हुन् खनाल। नेताहरूबीच विवाद पर्दा मिलाउने कुरामा म संलग्न हुन्थें। महासचिवको हिसाबले पनि मेरो भूमिका त्यस्तै हुन्थ्योु, खनाल भन्छन्, ुत्यसैलाई लिएर कोहीले मेरो विशेषता नै समन्वयकारी ठानेका होलान् तर वैचारिक विषयको पक्षविपक्षमा बहस राम्ररी गर्छु।ु
खनालको पोल्टामा राज्यका पदहरू आउने क्रम त्यसबेला सुरु भयो जतिबेला राधाकृष्ण मैनालीबाहेक अरू नेता खुला रूपमा चिनिएकै थिएनन्। अन्तरिम सरकारमा कृषि, वन र भूमिसुधारमन्त्री बनेका उनलाई अनुभव नभएका कारण आफूलाई तलको मर्यादाक्रममा राखिएको पत्तो पनि पछि मात्र भएछ।
पहिलो आमचुनावसम्म ठीकठाक चलिरहेको उनको राजनीतिक ुकरिअरु मा एमालेको पाँचौं महाधिवेशन ताका भने धक्का पुगेको थियो। त्यतिबेला जल्दाबल्दा नेता मदन भण्डारीसँग बहुदलीयता मान्ने तर कार्यक्रमको नाम नै बहुदलीय जनवादु राख्ने हुँदै भन्दै मत बजाए खनालले। महाधिवेशनमा उनी पोलिटब्युरोबाट केन्द्रीय सदस्यमा घटुवा भए। त्यतिबेला मदनले मलाई स्थायी समितिमा नल्याउने गरी चुनाव गराउनुभयो, त्यो उहाँको कमजोर पक्ष थियोु, उनले भने।
नामकै कुरामा आफूले अडान लिन नहुने रहेछ भन्ने उनलाई पछि महसुस भयो। त्यो ठूलो चिरा थिएन, पुर्न सकिन्थ्यो, उनले भने।
तत्कालीन महासचिव माधवकुमार नेपालले पहिलो संविधानसभा निर्वाचनमा हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि पार्टी नेतृत्व खनालको काँधमा आयो। त्यसपछि सम्पन्न महाधिवेशनमा नेपाल र अहिलेका अध्यक्ष ओली एक ठाउँमा हुँदासमेत उनैले अध्यक्षमा जिते।
खनालले दोस्रो संविधानसभामा पार्टीलाई तेस्रो स्थानबाट दोस्रोमा उकाले। एमाले कार्यकर्ताका भनाइमा खनालसँग आकर्षक व्यक्तित्व, सुमधुर बोली, धेरैपटक नेतृत्व गरेको अनुभवलगायत सबै कुरा छन्, नभएको एउटा गुटमात्र हो। यो अधिवेशनले आफ्नो गुटहीन राजनीतिलाई अनुमोदन गरिदिएको उनलाई लाग्छ। खनाल भन्छन्, नेताहरू प्यानल बनाएर उठ्नुभयो, कार्यकर्ताले मतदानमार्फत त्यसविरुद्ध सन्देश दिए।