पहिलोपटक कालोसूचीबाट हटयो सर्लाही जिविस

काठमाण्डु टुडे २०७१ साउन ३ गते ११:०३ मा प्रकाशित

सर्लाही, ३ साउन– जिल्ला विकास समितिको कार्यालय सर्लाही न्यूनतम सर्त एवम् कार्यसम्पादन सूचक (एमसिपिएम) मा पहिलोपटक उत्तीर्ण भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय निकाय वित्तीय आयोगले आर्थिक वर्ष ०६९/०७० मा मुलुकभरका जिविसले गरेको काम कारबाहीको प्रक्रिया र कार्य सम्पादनको आधारमा प्रकाशित गरेको नतिजाअनुसार सर्लाही पहिलोपटक उत्तीर्ण भएको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए । उत्तीर्ण भएसँगै जिविस सर्लाही मन्त्रालय र आयोगको कालोसूचीबाट हटेको छ ।
स्थानीय विकास अधिकारी बस्नेतका अनुसार न्यूनतम ४० अङ्क ल्याउनुपर्ने सूचकहरुमा ६२ नम्बर प्राप्त गर्दै जिविस सर्लाही ४५आंै स्थानमा उत्तीर्ण भएको हो । आर्थिक वर्ष ०६४/०६५ देखि सुरु भएको सूचक मापन प्रक्रियामा सर्लाही पहिलोपटक उत्तीर्ण भएको हो ।
सूचक मापनमा उत्तीर्ण भएपछि जिविसले मन्त्रालयबाट थप रु एक करोड ८० लाख अनुदानसमेत प्राप्त गर्ने बस्नेतले जानकारी दिए । आर्थिक वर्ष ०६८/०६९ मा जिविस सर्लाही मुलुकभरका ७५ जिल्लामध्ये ७३ औं नम्बरमा थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us