सडकमा दिनको एक करोड खर्च

काठमाण्डु टुडे २०७१ साउन २ गते ११:३९ मा प्रकाशित

प्युठान, २ साउन – बर्सेनि असार अन्तिममा पुग्दा विकासे कार्यक्रममा लाखाै रकम खर्च हुने नेपालको संस्कार नै बनिसकेको छ । प्युठानमा पनि असारको अन्तिम सातामा आएर जिल्लाका सडकमा एकै दिनमा करोडौँ रकम खर्च भएको छ ।

निर्वाचन क्षेत्र विकास कोष कार्यक्रम, जनसहभागिता, सडक डिभिजन कार्यालय, जिल्ला विकास समितिमार्फत जिल्लामा एक दिनमा एक करोडका दरले दश दिनमा दश करोड खर्च भएको छ ।

असार मसान्तभित्र सम्पन्न हुने गरी जिविसको ७९ लाख, सडक डिभिजन कार्यालयको छ करोड ६० लाख, संसद् विकास कोषको ४५ लाख, जनसहभागिताको ४३ लाख रकम सडकमै खर्च भएको छ ।

पछिल्लो दश दिनको अवधिमा जिल्लामा यति रकम खर्च भएको जिविस लेखा स्रोतले जानकारी दिएको छ । जिविसको संशोधित कार्यक्रमअनुसार १६ सडक निर्माण योजना र सात पूर्वाधार जन्य सडकमध्ये धेरैजसो योजना १० दिनमै लाखौँ रुपैयाँ मर्मत, निर्माणमा खर्च गरिसकिएको छ ।

स्थानीय विकास कार्यक्रमको १३ योजनामध्ये १२ योजना सडककै छन् । जिल्लामा असार तेस्रो सातासम्म निर्माणका लागि सम्झौता गर्ने, बिल मिलाउने, डोजरका लागि अनुमति लिनेजस्ता काम गर्न उपभोक्ता समितिहरू व्यस्त थिए ।

मध्यपश्चिम सडक डिभिजन कार्यालय देवीस्थानका प्रमुख नरेन्द्र सुवेदीले जानकारी गराएअनुसार आन्तरिक तथा दुई जिल्ला जोड्ने १३, क्षेत्रीय स्तरका छ, पर्यटन एक र सम्भावित रणनीतिक सडकको एउटा योजनामा गरी करोडौँ रुपैयाँ लगानी गरी असार मसान्तमा मर्मत तथा नयाँ ट्र्याक खोलिएका छन् ।

भिंग्री–स्वर्गद्वारी तीन करोड ६० लाख र अग्नि सिमेन्ट क्वाडी साइड पहुँच मार्ग फोप्लीमा तीन करोडको काम भइरहेको छ ।

असारमै काम सुरु भई असारमै सम्पन्न गर्नुपर्ने भएकाले प्राविधिकहरूलाई योजनाहरू हेर्न भ्याइनभ्याइ भएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर मेघराज ज्ञवालीले बताए । जिल्लामा असार मसान्तमा सम्पन्न गरिएका योजनाहरू कम गुणस्तर हुने र रकमको सही सदुपयोग नहुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us