आठ प्रतिशत मुद्रास्फीति कायम राख्ने मौद्रिक नीतिको लक्ष्य

काठमाण्डु टुडे २०७१ साउन २ गते ११:३६ मा प्रकाशित

काठमाण्डु , २ साउन – नेपाल राष्ट्र बैंकले उपभोक्ता मुद्रास्फीति दरलाई वार्षिक औसत आठ प्रतिशत कायम राख्दै छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रमुख लक्ष्यसहित आर्थिक वर्ष २०७१–७२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले कम्तीमा आठ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने बताए ।

उनले सरकारको आर्थिक वर्ष २०७१–७२ को बजेट वक्तव्यमा उल्लिखित ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सघाउ पु¥याउन आवश्यक मौद्रिक तरलता व्यवस्थापन गर्नेे लक्ष्य मौद्रिक नीतिको रहेको जानकारी दिए ।

मौद्रिक नीतिको कार्यदिशाअनुरूप मौद्रिक क्षेत्रबाट मूल्यमा चाप पर्न नदिन र परिलक्षित आर्थिक वृद्धिलाई सहयोग पु¥याउन मौद्रिक नीतिको अन्तरिम लक्ष्यका रूपमा विस्तृत मुद्राप्रदायको वृद्धिदरलाई १६ प्रतिशतको हाराहारीमा कायम राखिने गभर्नर डा खतिवडाले उल्लेख गरे ।

उनले आर्थिक वर्ष २०७१–७२ का लागि प्रक्षेपित आर्थिक वृद्धिदर तथा मुद्रास्फीति दरको आधारमा सिर्जना हुन सक्ने समग्र मागको अवस्थालाई दृष्टिगत गर्दा निजी क्षेत्रतर्फको कर्जा १८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको बताए ।

गभर्नर डा खतिवडाले समावेशी आर्थिक विकास गर्न मौद्रिक नीतिले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै अधिक तरलता, वित्तीय स्थायित्व कायम राख्ने र मूल्य स्थिरतालाई कायम राख्नका लागि मौद्रिक नीतिलाई कसिलो बनाइएको स्पष्ट पारे ।

मौद्रिक नीतिको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन बैंक तथा वित्तीय क्षेत्र, लघुवित्त र विदेशी विनिमयसम्बन्धी नीति तथा कार्यक्रम पनि आज सार्वजनिक मौद्रिक नीतिमा समावेश गरिएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us