दुग्ध विकास संस्थानलाई प्रतिस्पर्धी बनाउनुपर्ने : कृषिमन्त्री

काठमाण्डु टुडे २०७१ साउन १ गते १२:५२ मा प्रकाशित

काठमाण्डु, १ साउन – कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले दुग्ध विकास संस्थानलाई समयसापेक्ष रुपमा आधुनिकीकरण र निजी क्षेत्रसँग प्रतिस्पर्धी बनाएर लैजानुपर्ने बताएका छन् ।

hari parajuliसंस्थानको ४६औँ वार्षिकोत्सवको अवसरमा बिहिबार आयोजित कार्यक्रममा उनले आधुनिक युगमा नाफा आर्जन गर्न नसक्ने संस्थाको औचित्य सकिने भएकाले त्यसतर्फ ध्यान दिन व्यवस्थापनको ध्यानाकर्षण गराए ।

मन्त्री पराजुलीले प्रतिस्पर्धी बन्न नसक्ने संस्थानलाई सरकारले खारेजीको प्रक्रियामा लैजाने तयारी गरेकाले संस्थानले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
संस्थानको आधुनिकीकरणका लागि आवश्यक सहयोग गर्न सरकारको प्रतिबद्धता व्यक्त गर्दै उनले दूध र दूधजन्य पदार्थमा देशलाई आत्मनिर्भर बनाउनका लागि मन्त्रालयले आगामी आर्थिक वर्षमा १० हजार उन्नत जातका गाई तथा १० हजार बाछी उत्पादन गर्ने तयारी गरेको जानकारी दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव जयमुकुन्द खनालले संस्थान राज्यको अग्रणी संस्था भएकाले यसलाई राज्यले सधैँ सकारात्मक दृष्टिकोणले हेरेको भए पनि आउँदा दिनमा सुधारिन सुझाव दिए ।

कार्यक्रममा संस्थानका अध्यक्ष डा केशवप्रसाद प्रेमीले दूघ उत्पादनमा अभिवृद्धि गर्न अघिल्ला वर्षमा सञ्चालन गरेका कार्यक्रमलाई निरन्तरता दिँदै ग्रामीण किसानले उत्पादन गरेका दूधलाई सदुपयोग गर्ने बताए ।

संस्थानका निमित्त महाप्रबन्धक गङ्गा तिमल्सिनाले देशको ४४ जिल्लामा आठवटा दूध वितरण आयोजनामार्फत करिब दुई लाख किसानबाट दैनिक दुई लाख लिटर दूध खरिद गरी दैनिक एक करोडभन्दा बढी रकम ग्रामीण क्षेत्रमा पु¥याउँदै आएको जानकारी दिए ।

वार्षिकोत्सवका अवसरमा संस्थानका उत्कृष्ट कर्मचारी, किसान, सहकारी संस्था एवम् लोकगायक पशुपति शर्मालाई कदरपत्रले सम्मान गरिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us