साना तथा घरेलु उद्योगमा दुई अर्ब लगानी

काठमाण्डु टुडे २०७१ साउन १ गते १२:३९ मा प्रकाशित

बाँके, १ साउन – बाँके जिल्लामा सञ्चालित साना तथा घरेलु उद्योगमा करिब दुई अर्ब लगानी रहेको पाइएको छ । ती उद्योगमा एक हजार ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यस जिल्लामा तीस वर्षको अवधिमा दुई हजार ३८५ उद्योग दर्ता भएका छन् । यसमा एक अर्ब ९८ करोड लगानी रहेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका प्रमुख उद्योग अधिकृत भूपेन्द्र सापकोटाका अनुसार जिल्लामा लगानी मैत्री वातावरण बन्दै गएकाले पछिल्लो समय साना उद्योगहरु खुल्ले क्रम बढेको हो ।

आर्थिक वर्ष २०६९–७० मा मात्र २८५ र गत आर्थिक वर्षमा २०० उद्योग दर्ता भई सञ्चालनमा आएको उनले बताए ।

दर्ता भएका अधिकांश उद्योग सञ्चालनमा आएको सो कार्यालयले जनाएको छ । जिल्लामा कृषि र सेवा उद्योगहरु धेरै खुलेका छन् भने ऊर्जा र खनिजजस्ता उद्योगहरुको स्थापनामा व्यवसायीहरुले चासो देखाएका छैनन् ।

घरेलुु तथा साना उद्योगमा व्यवसायीहरुले दुई लाखदेखि छ करोडसम्म लगानी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us