प्राकृतिक विपत्तिबाट पाँच करोडको क्षति

काठमाण्डु टुडे २०७१ साउन १ गते ११:३३ मा प्रकाशित

बनेपा, १ साउन – काभ्रेपलाञ्चोकमा भएका विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिबाट गत आर्थिक वर्षमा झन्डै पाँच करोड मूल्य बराबरको धनजनको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७०–७१ मा बाढी पहिरो, आगलागी र चट्याङबाट सो क्षति भएको हो । सो आवमा १५को मृत्यु भयो भने १७ घाइते भए ।

यी विपत्तिमा परी एक हजार १०२ पीडित परिवार भएको र १५४ वटा घर क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।

प्रहरीका अनुसार बाढी पहिरोबाट सो आवमा एक करोड ६० लाख ६३ हजार ६४०, आगलागीबाट दुई करोड ६६ लाख तीन हजार २०१ र चट्याङबाट ६६ लाख ३३ हजार १०० गरी कुल चार करोड ९२ लाख ९९ हजार ९४१ को क्षति भएको छ । त्यस अवधिमा बाढी, पहिरोबाट दुई जना, आगलागीबाट एक र चट्याङबाट १२ सहित १५ को मृत्यु भएको छ ।

चट्याङबाट धेरैजसोको मृत्यु महाभारत शृङ्खला आसपासका गाविसमा हुने गरेको प्रहरी उपरीक्षक विसीले बताए । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका, पनौती नगरपालिका, कुशादेवी गाविस, फलामेटार गाविसलागायतका गाविसमा प्राकृतिक विपत्तिकाका घटना भएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us