खाद्यान्न उत्पादनमा वृद्धि , ३० जिल्लामा खाद्यान्न परिपूर्ति हुन नसक्ने

काठमाण्डु टुडे २०७१ असार ३२ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, ३२ असार – कृषि विकास मन्त्रालयले यस वर्ष ९ दशमलव ४३ प्रतिशत खाद्यान्न उत्पादनमा वृद्धि भएको अनुमान गरेको छ ।

कृषि विकास मन्त्रालयले बुधबार एक विज्ञप्ति प्रकाशित गरी आव २०७०–७१ मा क्षेत्रफल एवम् उत्पादन स्थितिअनुसार खाद्यान्न बालीतर्फ धान ५० लाख ४७ हजार ४७ मेट्रिक टन, मकै २२ लाख ८३ हजार २२२, कोदो तीन लाख चार हजार १०५, गहँु १८ लाख ८३ हजार १४३, जौ ३४ हजार ८६६ र फापर १० हजार ३३५ मेट्रिक टन उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गत वर्षको तुलनामा आठ लाख २४ हजार ३६८ मेट्रिक टन (९.४३ प्रतिशत)ले वृद्धि हुने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता टेकप्रसाद लुर्इंटेलद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

यस आवमा बर्खे तथा हिउँदे बालीको कुल उत्पादन ९५ लाख ६२ हजार ७१८ मेट्रिक टन खाद्यान्न उत्पादन भएको अनुमान भएपनि उत्पादनको सम्पूर्ण परिमाण उपभोगको लागि उपलब्ध नहुने हुँदा कुल खाद्यान्न उत्पादन परिमाणमध्ये बीउ, प्रशोधन नोक्सानी परिमाण, भुस चोकरलगायत अन्य जर्ती तथा पशु दानामा प्रयोग हुने परिमाण आदि कटाइसकेपछि बाँकी रहन आउने परिमाण मात्र उपभोगयोग्य परिमाण मानिएको छ ।

प्रतिवर्ष प्रतिव्यक्तिका दरले आवश्यकता पर्ने क्यालोरी अनुमानको आधारमा प्राप्त आँकडाको विश्लेषण गर्दा आव २०६८–६९ मा राष्ट्रियस्तरमा ५० लाख ७७ हजार १३४ मेट्रिक टन खाद्यान्न आवश्यकता भएकामा ६० लाख २० हजार २९५ मेट्रिक टन उपभोग्य खाद्यान्न उत्पादन भई करिब नौ लाख ४३ हजार १६१ मेट्रिक टन खाद्यान्न बचत भएको विज्ञप्तिमा जनाएको छ ।

त्यस्तै आव २०६९–७० मा कुल खाद्यान्न आवश्यकता ५२ लाख ३९ हजार ८२३ मेट्रिक टन खाद्यान्न आवश्यकता भएकामा कुल उपभोग्य खाद्यान्न उत्पादन ५६ लाख ४८ हजार २६५ मेट्रिक टन उत्पादन भएको प्रारम्भिक अनुमान गरिएअनुसार चार लाख आठ हजार ४४२ मेट्रिन खाद्यान्न बचत भएको जनाएको छ ।

चालु आर्थिक वर्षमा मध्यावधि जनसङ्ख्या दुई करोड ७८ लाख ३५ हजार ९८२ हुने प्रारम्भिक अनुमानका आधारमा जम्मा ५२ लाख ९५ हजार ८८६ मेटन उपभोग्य खाद्यान्न आवश्यक हुने प्रारम्भिक अनुमान गरिएको पनि उल्लेख छ ।

गत आवमा आन्तरिक खाद्यान्न उत्पादनबाट आवश्यकता परिपूर्ति हुन नसकेका जिल्लाहरू ३३ रहेका थिए भने यस वर्ष ३० जिल्लामा खाद्यान्न उत्पादनबाट आवश्यकता परिपूर्ति हुन नसक्ने प्रारम्भिक अनुमान रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us