इलेक्ट्रिसियन र पेन्टरको ज्याला बढ्यो १२८ प्रतिशतले

काठमाण्डु टुडे २०७१ असार ३२ गते १२:०८ मा प्रकाशित

काठमाण्डु, ३२ असार – चालु आर्थिक वर्षमा ‘इलेक्ट्रिसियन’ र ‘पेन्टर’को ज्याला सर्वाधिक वृद्धि भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको निर्माण क्षेत्रको लागत मूल्य सूचकाङ्कअनुसार बिजुलीको काम गर्ने र घर रङरोगन गर्ने मजदुरको ज्याला १२८ प्रतिशतले बढेको छ । अधिक ज्याला पाउने तेस्रो सूचीमा ज्यामी काम गर्नेहरू परेका छन् ।

त्यसैगरी काठको मूल्यमा पनि भारी वृद्धि भएको छ । समीक्षा अवधिमा त्यसको मूल्य साढे तीन गुणाले बढेको सूचकाङ्कमा उल्लेख छ । निर्माण सामग्रीको मूल्य ७० प्रतिशतले बढेको तथा निर्माण मजदूरको ज्याला १२८ प्रतिशतले वृद्धि भएको छ । ह्युम पाइप, जिआई पाइप, रोडाढुङ्गा, माटो र बालुवाको मूल्य पनि अनपेक्षितरुपमा बढेको छ ।

त्यस्तै औद्योगिक उत्पादनको मूल्य पनि ११७ प्रतिशतबाट बढेर १३५ प्रतिशतमा पुगेको छ । औद्योगिक क्षेत्रको उत्पादकत्वको मूल्य सूचकाङ्कले पनि सबैतिर मूल्यवृद्धि भएको देखाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us