नागरिक लगानी कोषले बोनस सेयर र नगद लाभांश वितरण गर्ने

काठमाण्डु टुडे २०७१ असार ३२ गते १२:०३ मा प्रकाशित

काठमाण्डु, ३२ असार – नागरिक लगानी कोषले आर्थिक वर्ष २०६९–७० को खुद नाफा र त्यसभन्दा अघिल्लो वर्षको बाँडफाँड गर्न बाँकी मुनाफाबाट बोनस सेयर र नगद लाभांश वितरण गर्ने भएको छ ।

citकोषका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा बुधबार सम्पन्न १९औँ वार्षिक साधारणसभाले उक्त मुनाफाबाट तीन करोड ८६ लाख ४५ हजार रकम साधारण जगेडामा राखी बाँकी ५० प्रतिशत बोनस सेयर र २.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०६९–७० मा करपछिको खुद नाफा १९ करोड ३२ लाख २६ हजार र आव २०६८–६९ को बाँडफाँड गर्न बाँकी मुनाफा ६ करोड २६ लाख ८२ हजारसमेत गरी बाँडफाँड योग्य रकम २५ करोड ५९ लाख आठ हजार कोषमा रहेको जनाइएको छ ।

साधारणसभाले कोषको मुद्दती निक्षेपमा केन्द्रित रहेको लगानीलाई ४० प्रतिशतमा सीमित गरी कुल लगानीको अधिकतम हिस्सा ऊर्जा तथा पूर्वाधार विकासमा लगाउने निर्णयसमेत गरेको छ ।
कोषले आफ्नो लगानीलाई उद्योग, स्वास्थ्य, शिक्षण तथा पर्यटनको क्षेत्रमा क्रमशः विस्तार गर्दै लैजाने नीति लिएको छ । कोषले उपत्यका बाहिर पनि शाखा विस्तार गर्ने र इन्टरनेटबाट व्यक्तिगत हिसाब हेर्ने व्यवस्था मिलाउने भएको छ ।

कोषले आर्थिक वर्ष २०७०–७१ को चैत मसान्तसम्ममा ९३ करोड ५४ लाखको साधारण तथा हकप्रद सेयर निष्कासन गरिसकेको छ भने पुँजी बजार सेवालाई विस्तार गर्न सहायक कम्पनी खडा गरी बजार निर्माताको काम गर्ने तयारी गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा खुद कोष रकम ४६ अर्ब एक करोड ६५ लाख पुगेको छ । कोषले विभिन्न कार्यक्रमका सहभागीलाई कार्यक्रमको प्रकृतिअनुसार ५.५ देखि नौ प्रतिशतसम्म प्रतिफल प्रदान गर्दै आएको छ ।

सर्वसाधारणलाई बचत गर्न प्रोत्साहित गरी पुँजी वृद्धि र सङ्कलन गर्दै लगानीका अवसर बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउन विसं २०४७ चैतमा कोषको स्थापना भएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us