कावासोती नगरपालिकाको ११ करोडको बजेट

काठमाण्डु टुडे २०७१ असार ३२ गते ७:०७ मा प्रकाशित

परासी, ३२ असार – नवलपरासीको कावासोती नगरपालिकाको मङ्गलबार सम्पन्न नगरपरिषद्ले आगामी आर्थिक वर्ष २०७१–७२ का लागि करिब ११ करोडको बजेट पारित गरेको छ ।

जसअन्तर्गत चालुतर्फ साढे चार करोड र पुँजीगततर्फ साढे छ करोड गरी करिब ११ करोडको बराबरको अनुमानित आय व्यय बजेट पारित गरिएको हो ।

आयअन्तर्गत आन्तरिकमा एक करोड ५० लाख र बाह्य अनुदान नौ करोड ५० लाख बराबर प्राप्त हुने अनुमान गरिएको छ ।

यसैबीच विगत १० वर्षदेखि उठ्दै आएको कावासोतीको फोहोर नगरपालिका घोषणासँगै डम्पिडसाइटको अभावमा बन्द हुँदा नगरपालिका क्षेत्र दुर्गन्धित भएको छ ।

चोक, गल्ली खाली भूभाग जताततै फोहोर तथा फोहोर जलाइएका खरानीका थुप्राले बजारलाई कुरुप बनाएको छ । पटकपटक नगरपालिकामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले फोहर व्यवस्थापनका लागि समिति गठन गर्ने कार्यबाहेक अन्य ठोस कार्य गर्न सकिरहेको छैन ।

फोहोर व्यवस्थापनका लागि नगर विकास समितिका अध्यक्ष सुरज गुरुडको अध्यक्षतामा डम्पिडसाइट निर्माणार्थ समिति गठन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने भनिए तापनि अहिलेसम्म पेस नगरेको कावासोती नगरपालिकाका कार्यकारी अधिकृत बद्रीकृष्ण शंखदेवले जानकारी दिए ।

डम्पिङसाइटका लागि देवचुली नगरपालिकासँग पनि समन्वय गरेर अगाडि बढ्न सकिने उनकोे भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us