२८ लाख फ्रिज गराउने कार्यालय प्रमुखमाथि कारबाही

काठमाण्डु टुडे २०७१ असार ३१ गते १२:५८ मा प्रकाशित

प्युठान, ३१ असार – पेटभर खान नपाउने गरिब प्युठानी जनताको जीवनस्तर माथि उठाउन भन्दै नेपाल सरकार र दातृ निकायले दिएको लाखौँ रुपैयाँ फ्रिज गरिएको छ ।

घरेलु तथा नासा उद्योग कार्यालयको मनोमानी र लापरबाहीका कारण लाखौँ रुपैयाँ फ्रिज भएको हो । लघु उद्यमी सिर्जना गर्न नेपाल सरकारद्वारा घरेलु तथा साना उद्योग विकासअन्तर्गत विनियोजित २८ लाख बजेट जिम्मेवार व्यक्तिहरुको लापरबाहीका कारण फ्रिज हुँदा जिल्लाका लघु उद्यमीहरु मर्कामा परेका छन् ।

आर्थिक वर्ष २०६६–६७ देखि विनियोजन हुँदै आएको रकम विगत वर्षहरुमा काम हुँदै आए पनि यस वर्ष भने कार्यक्रम नै सुरु नगरी बजेट फ्रिज गराइएको छ ।

‘यस आर्थिक वर्षका लागि आएको २८ लाख विभिन्न समस्याले गर्दा फ्रिज भएको छ,” घरेलु तथा साना उद्योग विकास अधिकृत तथा कार्यालय प्रमुख रामबहादुर रानाले भने, “समयाभावका कारण उद्यम विकासका लागि आएको रकम फ्रिज भएको हो ।”

लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्न घरेलु तथा साना उद्योग विकास समिति केन्द्रीय कार्यालयबाट आशयपत्र माग गरी तीन वटा संस्थालाई कार्यक्रम गर्न दिने योजना थियो । तीन वटा संस्थामध्ये कार्यक्रम गर्ने प्रस्ताव एउटा मात्र संस्थाले पेस गरेकामा त्यस प्रस्तावलाई स्वीकृत गरी पुनः कार्यक्रम सञ्चालन गर्न नदिई कार्यालय प्रमुखले दोहोरो चरित्र देखाएका छन् । तीन वटा संस्थामध्ये कार्यालय प्रमुख रामबहादुर राना मातहतको संस्थाले कार्यक्रम गर्न प्रस्ताव नल्याउँदा रकम फ्रिज गराएको जिल्लाका सरोकारवालाहरुको भनाइ छ ।

नेपाल सरकारबाट जिल्लामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०६६–६७ मा खैरा, धर्मावती र माझकोट, आव २०६७–६८ मा गोठिबाङ, स्वर्गद्वारी, लिघा र डाम्री, आव २०६८–६९ मा दाङबाङ, बरौला, लुङ र फोप्ली र आव २०६९–७० जुम्रीकाँडा, विजयनगर, माझकोट र फोप्ली गाविसमा कार्यक्रम सञ्चालन भएको थियो ।

यस आवमा प्युठान क्षेत्र नं १ का धुवाङ र पकला र क्षेत्र नं २ मा नारिकोट र बाङ्गेमरोठ गाविसमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेकामा कार्यक्रम कार्यालय प्रमुखको लापरबाहीका कारण रकम फ्रिज भएको जिल्ला लघु उद्यम विकास समिति प्युठानका अध्यक्ष तथा स्थानीय विकास अधिकारी भगवान अर्यालले जानकारी दिए ।
घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुखको लापरबाहीले गर्दा गरिबी निवारणका लागि भनेर आएको रकम फ्रिज भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उहाँले कार्यालय प्रमुखले प्युठानी जनताप्रतिको जवाफदेहिता बहन नगरेको आरोप लगाए

अहिले यस विषयलाई लिएर प्युठानी जनतालगायत राजनीतिक दलहरुसमेत कार्यालय प्रमुखको विरोधमा उत्रिएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us