हेम्जामा १३ करोडको आलु उत्पादन

काठमाण्डु टुडे २०७१ असार ३१ गते १२:५४ मा प्रकाशित

पोखरा, ३१ असार – कास्कीको नगरोन्मुख हेम्जा गाविसमा यस वर्ष १३ करोड मूल्यको आलु उत्पादन भएको छ ।

गाविसमा यस वर्ष ११ हजार २०० मेट्रिक टन आलु उत्पादन भएको देखिन्छ । गत वर्षको भन्दा यस वर्ष केही मात्रामा उत्पादन बढी भएपनि कृषकले सधैँ एमएस ४२–३ जातको निलो आलु लगाउँदा उत्पादनमा ह्रास हुँदै गएको अगुवा कृषक चित्रनाथ पौडेल बताउछन् ।

गत वर्ष त्यहाँका कृषकले १० हजार मेट्रिक आलु उत्पादन गरी करिब १२ करोड कमाइ गरेका थिए । यस वर्ष कृषकले खुमल लक्ष्मी जातको आलु पनि लगाएकामा त्यसले राम्रो उत्पादन दिएको कृषकको भनाइ छ ।

कुल खेतीयोग्य जमिनमध्ये ४५० हेक्टर जमिनमा आलुखेती गरिँदै आएको छ । यस गाविसका एक हजार ८५ परिवार व्यावसायिक रुपमा आलुखेती गर्ने गर्दछन् ।

कृषकले आलुखेतीका लागि चितवन, नवलपरासी, बागलुङ र म्याग्दीबाट बर्सेनि रु पाँच करोड मूल्यको कुखुराको सुली आयात गर्ने गर्दछन् । यहाँका कृषकले आलुबाहेक अन्य तरकारीखेती पनि गर्ने गर्छन् ।

यहाँका कृषकहरुले तरकारीखेतीबाट मात्रै बर्सेनि एक अर्बभन्दा बढी आम्दानी गर्ने गरेको बताइएको छ । काउली, गोलभेँडा, च्याउ, बन्दा, सिमी, काँक्रो, भान्टालगायतका तरकारीखेतीबाट कृषकले मनग्य आम्दानी गर्ने गरेका छन् ।

यस गाविसमा सिँचाइको राम्रो व्यवस्था भएकाले पनि सबै खेतीपातीको उत्पादन सन्तोषजनक हुने गरेको अर्का कृषक मीनबहादुर थापाल बताए । कृषकले प्राङ्गारिक मल प्रयोग गरेर तरकारीखेती गर्ने गरेकाले यहाँबाट उत्पादित तरकारी स्वादिलो हुने गर्दछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us