दुग्धजन्य पदार्थबाट चार अर्ब आर्जन

काठमाण्डु टुडे २०७१ असार ३० गते ११:२५ मा प्रकाशित

इलाम, ३० असार– दूध उत्पादनमा अग्रणी जिल्ला मानिएको इलामका किसानले यस वर्ष दूध तथा दुग्धजन्य पदार्थ बिक्रीबाट करिब चार अर्ब आर्जन गरेका छन् ।

गाईंभैँसीपालनमा अग्रसर बनेका किसानले चालु आवमा तीन अर्ब ८१ करोड २२ लाख २२ हजार आम्दानी गरेका छन् । अघिल्लो वर्षको भन्दा जिल्लामा यस वर्ष दूध उत्पादनमा समेत वृद्धि भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । अघिल्लो वर्ष एक लाख १० हजार ८१७ मेट्रिक टनमात्रै दूध उत्पादन भएकामा यस वर्ष जिल्लामा एक लाख १३ हजार ९३२ मेट्रिक टन दूध उत्पादन भएको कार्यालयले जनाएको छ । किसानले प्रतिकिलो सरदर ३० देखि ४० को बीचमा मूल्य पाउँछन् । जिल्लाका अधिकांश किसानले व्यावसायिक पशुपालन गरेका छन् ।

दुग्धजन्य पदार्थ बिक्रीबाट रु ३९ करोड ४२ लाख ६२ हजार जिल्ला भित्रिएको छ । दुग्धजन्य पदार्थअन्तर्गत जिल्लामा विभिन्न क्षेत्रमा खुलेका साना ठूला गरी दुई दर्जन चिज उद्योगबाट वार्षिक तीन लाख ८६ हजार २३५ किलोग्राम चिज उत्पादन भएको छ । चिज बिक्रीबाट रु २३ करोड १७ लाख ४१ हजार आम्दानी भएको छ । प्रतिकिलो ६०० देखि ७०० सम्म बिक्री हुने चिजको बजार काठमाडौँ र पोखराका ठूला होटल हुन् ।

यो वर्ष ९० हजार छ सय २९ किलोग्राम घयू उत्पादन भएको छ । घ्यू विक्रीबाट चार करोड ९८ लाख ४५ हजार प्राप्त भएको छ । छुर्पी विक्री गरेर १० करोड ६१ लाख १५ हजार रकम किसानको हातमा परेको छ । विशेष गरेर इलामको छुर्पी कुकुरको आहाराको रूपमा अमेरिका निर्यात हुन थालेको छ । यो वर्ष दुई लाख १२ हजार २३० किलोग्राम छुर्पी उत्पादन भएको पशु सेवा कार्यालयले जानकारी दिएको छ । प्रतिकिलो ५०० मा छुर्पी बिक्री हुँदै आएको छ ।
दुग्धजन्य पदार्थमध्ये ललीपप बिक्रीबाट रु ४७ लाख ७८ हजार आम्दानी भएको छ । चालु आवमा १९ हजार ४१७ किलोग्राम ललीपप उत्पादन भएको जनाइएको छ । यसका अलवा यो वर्ष रु १० लाख ९९ हजारबराबरको पुष्टकारी र छ लाख ८२ हजार बराबरको आइसक्रिम उत्पादन भई बिक्री भएको छ ।

कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार भई दूध तथा दुग्धजन्य पदार्थमा वृद्धि भएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गानाले बताए । दूध उत्पादन वृद्धिसँगै किसान गाईभैँसीमा कृत्रिम गर्भाधानप्रति आकर्षित भएका छन् ।

चालु आवमा दुई हजार ९२० गाईभैँसीमा कृत्रिम गर्भाधान गराइएको छ । जिल्लामा स्थानीय र वर्णशङ्कर एक लाख तीन हजार ७९४ र भैँसी १० हजार १३८ वटा भैँसी रहेका छन् । जिल्लामा होलिस्टिन, जर्सी गाई तथा मुर्रा जातका भैँसीपालनप्रति किसान आकर्षित हुन थालेका छन् ।

होलिस्टिन तथा जर्सी गाईले एक साँझमा १५ देखि २० लिटरसम्म र मुर्रा जातको भैँसीले नौदेखि १२ लिटरसम्म दूध दिने गरेको समेत ढुङ्गानाले बताउनुभयो । जिल्लाका पशुपतिनगर, फिक्कल, कन्याम, श्रीअन्तु, साँखेजुङ, इलाम नगरपालिका, बरबोटे, गोदक, मङ्गलबारे, माईपोखरी, साँखेजुङ, सुलुबुङ, सुम्वेक, शान्तिडाँडामा गाईपालन गर्ने किसानको सङ्ख्या उल्लेख्य छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us