१७.३ प्रतिशत बर्षभरि खान नपुग्ने परिवार

काठमाण्डु टुडे २०७१ असार २९ गते १३:०८ मा प्रकाशित

दाङ, २९ असार – खेतीमा निर्भर कृषक परिवार ८६ हजार ६२३ रहेको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ ।

तीमध्ये ४३ हजार ७१२ जना कृषक परिवार मात्र आफ्नै उत्पादनले वर्षभरि खान पुग्ने रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । जसअन्तर्गत पूर्णरूपमा कृषिमा निर्भर रहेको १० हजार ८९८ (२४.९ प्रतिशत) कृषक परिवारलाई आफ्नै उत्पादनले वर्षमा १० देखि १२ महिनासम्म खान पुग्दैन । १० हजार २५७ कृषक परिवारलाई (२३.५ प्रतिशत) सात देखि नौ महिना खान नपुग्ने छन् भने १४ हजार ९८५ कृषक परिवार (३४.३ प्रतिशत) चार देखि छ महिना खान नपुग्ने रहेका छन् ।

त्यसैगरी सात हजार ५७३ (१७.३प्रतिशत) घरपरिवार आफ्नै उत्पादनले वर्षमा एक देखि तीन महिना खाननपुग्ने परिवार छन् । जिल्ला तथ्याङ्क कार्यालयको राष्ट्रिय कृषि गणनाको प्रमुख नजितामा यस्तो उल्लेख छ ।

तथ्याङ्क विभागका अनुसार दाङमा अझै पनि ६१ हजार ९५१ हेक्टर जमिनमा खेती गरिहेको छ । २०५८ सालमा भएको कृषि जनगणना र २०६८ सालको कृषि जनगणनालाई तुलना गर्दा पछिल्लो १० वर्षमा दाङमा खेतीपाती गर्ने र पशुपालन गर्नेहरूको सङ्ख्या बढेको छ । अघिल्लो कृषि गणनामा ६७ हजार ९८१ किसानको आफ्नै जग्गा थियो तर २०६८ सालको जनगणनामा त्यो सङ्ख्या बढेर ८४ हजार ९९ पुगेको छ ।

यस्तै अघिल्लो जनगणनामा पशुपक्षी पाल्नेहरू ५१९ परिवार मात्रै थिए तर पछिल्लो (२०६८) को तथ्याङ्कमा यो सङ्ख्या बढेर दुई हजार ५२४ पुगेको छ । जिल्लामा एकल एवम् सामूहिक कृषि गर्नेहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।

जिल्ला तथ्याङ्क कार्यालयमा प्रमुख लक्ष्मण कँडेलका अनुसार दाङ मुख्य खाद्यान्न बालीमा धान, मकै, गहँु, जउ, कोदो, फापर छन् भने कोसेबालीमा मुसुरो, चना, केराउ, रहर, बोडी, मास, गहत, खेसरी, भटमास छन् ।

त्यसैगरी कन्दमूलबालीमा आलु, सखरखण्ड, पिँडालु मुख्य छन्, तेलहनमा तोरी, सस्र्यूं, बदाम, आलस, तिल, झुसे तिलको पनि खेती हुने गरेको छ । जिल्लामा नगदेबालीको रूपमा प्याज,
बेसार, अदुवा, लसुन, धनियाँ, खुर्सानी र तरकारी बालीमा फूलगोभी, बन्दागोभी, गोलभेँडाको राम्रो उत्पादन हुन्छ ।

यस्तै जिल्लामा गाई, भैँसी, बाख्रा, भेँडा, बङ्गुर, सुँगुर, घोडा, गधा, कुखुरा, हाँस, परेवा पाल्ने कृषक छन् । गत १० वर्षको अवधिमा दाङमा कुखुरा पाल्नेहरूको तथ्याङ्क पनि ह्वात्तै बढेको छ । २०५८ सालमा सात हजार ५१५ उन्नत जातका कुखुरा पालिएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us