तरकारीखेतीको कमाइले आधा दर्जन युवा वैदेशिक रोजगारीमा

काठमाण्डु टुडे २०७१ असार २९ गते १३:०४ मा प्रकाशित

कञ्चनपुर, २९ असार – तरकारीखेतीको कमाइले कञ्चनपुरको पिपलाडी–५ जोनापुरका युवा वैदेशिक रोजगारीमा गएका छन् ।

व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएका यहाँका कृषकले तरकारी बेचेर आएको रकम खर्चेर युवालाई वैदेशिक रोजगारीमा पठाएका हुन् ।

मौसमी र बेमौसमी तरकारीखेतीमा पाँच वर्षदेखि संलग्न कृषक मनिराम चौधरीले पाँच कठ्ठा जग्गामा उत्पादन गरेको तरकारी बेचेर तीनजना छोरालाई वैदेशिक रोजगारीमा मलेसिया पठाएका छन् ।

कृषक चौधरीले भने, “खेतमा काम गर्न घरमै जनशक्ति रहेकाले बेरोजगार रहेका छोरालाई वैदेशिक रोजगारीमा पठाएर घरको आर्थिक अवस्थामा सुधार ल्याएका छौँ ।”

तरकारीखेती गरेर वार्षिकरूपमा हुने एक लाख कमाइले ठूलो परिवार रहेकाले खानाका लागि अन्न, नातिनातिनाको विद्यालयको खर्च र औषधोपचारमै ठीक्क हुन्छ चौधरीले भने, “छोराहरूले वैदेशिक रोजगारीबाट कमाएको पैसा बचत गरी राख्दै आएका छौँ ।”

तरकारीखेतीको कमाइले मात्र बन्धकीमा एक बिघा खेत खरिद गरी तरकारी फलाउँदै आएका चौधरीले छोरालाई डेढ लाखका दरले रकम खर्चेर वैदेशिक रोजगारीमा मलेसिया पठाएका हुन् ।

तरकारीखेतीको कमाइभन्दा वैदेशिक रोजगारीमा गएकाले बढी आम्दानी गर्नेभन्दै गाउँकै अन्य तरकारीखेतीमा संलग्न कृषकले छोराहरूलाई वैदेशिक रोजगारीका लागि पठाएका छन् ।

जग्गा लिजमा लिएर तरकारीखेती गर्दै आएका कृषक सिताराम चौधरीलेसमेत दुई वर्षअघि दुई लाख खर्चेर छोरालाई वैदेशिक रोजगारीमा पठाएका छन् ।

“तरकारीखेतीभन्दा वैदेशिक रोजगारीमा पठाएका छोराले बढी कमाउला भनेर दुई वर्षदेखि जम्मा गरेको पैसा लगानी गरेर विदेश पठाए पनि छोराले पठाउने पैसाभन्दा तरकारीखेतीबाटै यहाँ बढी कमाइ हुने गरेकाले छोरालाई घरमै बोलाउने विचार गरेको छु”, उनले भने ।

तरकारी उत्पादनका लागि जिल्लामै अग्रणी मानिएको जोनापुरका कृषकले वर्षभरि नै अन्नको सट्टा तरकारीखेती गर्दै आएका छन् ।

उत्पादित तरकारी बजारमा लैजाँदा व्यापारीले लागत खर्चसमेत नउठ्ने गरी मूल्य निर्धारण गर्दै खरिद गर्ने भएकाले घाटा व्यहोर्नु पर्ने स्थितिका कारण श्रीमान्लाई वैदेशिक रोजगारीमा पठाएको स्थानीय कृषक बसन्ती चौधरीले बताए ।

“वैदेशिक रोजगारीबाट कमाएर आउने एकमुष्ट रकमले घरको गर्जो टार्न सहज हुन्छ”, उनले भने, “खेतमा उत्पादन गरेको तरकारी बजारमा बिक्री नहँुदा श्रम र लागत खेर जाने गरेको छ ।”

तरकारीखेतीमा संलग्न कृषकलाई प्रोत्साहन गर्न सरकारले सिँचाइ, बीउबिजन, मलखाद र कीटनाशकमा अनुदान दिई बजार प्रवद्र्धन गर्नुपर्ने पूर्वसभासद् टेकेन्द्रप्रसाद भट्टले बताए ।

युवाजनशक्ति विदेशिनबाट रोक्न कृषिमा सरकारी लगानी गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिनुपर्ने उहाँले उल्लेख गरे ।

कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार यस क्षेत्रबाट मात्रै वार्षिकरूपमा १०० मेट्रिक टन बढी तरकारी उत्पादन हुने गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us