व्यापार घाटा उन्नाइस प्रतिशतले वृद्धि

काठमाण्डु टुडे २०७१ असार २८ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, २८ असार– चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा कुल वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १८.५ प्रतिशतले वृद्धि भई सात खर्ब ३० अर्ब ८१ करोड पुगेको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमश: ११.२ प्रतिशत र ८८.८ प्रतिशत रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुयस खनालले जानकारी दिए ।

समीक्षा अवधिमा कुल निकासी १७.२ प्रतिशतले वृद्धि भई ८१ अर्ब ८२ करोड तथा कुल पैठारीमा १८.७ प्रतिशतले वृद्धि भई छ खर्ब ४८ अर्ब ९९ करोड पुगेको उनले बताए ।
आर्थिक वर्ष २०७०/७१ को प्रथम एघार महिनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.९ प्रतिशतले वृद्धि भई कुल व्यापार घाटा पाँच खर्ब ६७ अर्ब १७ करोड पुगेको छ ।

सो अवधिमा निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिबुटी प्रमुख छन् ।

त्यसैगरी फलाम तथा स्टिल र तिनका उत्पादन, पेट्रोलियम पदार्थ, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, औषधि, मेसिनरी तथा पार्टस्, कच्चा पाम आयल, दूरसञ्चारका सामग्री, रासायनिक मल, हवाइजहाज तथा हवाइजहाजका पार्टस्, सिमेन्ट क्लिङ्कर, भटमासको कच्चातेल, तयारी पोसाकलगातका सामग्री बढी पैठारी भएका छन् ।

निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, बङ्गलादेश, बेलायत, अफगानिस्तान, फ्रान्स, टर्की, जापान, इटाली, क्यानडा, अस्ट्रेलिया र थाइल्यान्ड प्रमुुख छन् ।

पैठारी व्यापारमा भारत, चीन, युएई, इन्डोनेसिया, थाइल्यान्ड, ब्राजिल, अर्जेन्टिना, मलेसिया, संयुक्त राज्य अमेरिका, साउदी अरेविया, जर्मनी, जापान, दक्षिण कोरिया, भियतनाम प्रमुुख छन् ।

परम्परागत निर्यातजन्य वस्तु ऊनी गलैंचा, तयारी पोसाकका साथै परम्परागत कृषिजन्य वस्तुको निर्यातमा केही सुधार देखिएको छ । समीक्षा अवधिमा अधिकांश प्रमुख वस्तुको आयातमा उल्लेख्य वृद्धि भएको केन्द्रले उल्लेख गरेको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us