नेसनल ट्रेडिङले माग्यो ५० करोड ऋण

काठमाण्डु टुडे २०७१ असार २८ गते ११:४८ मा प्रकाशित

national tradingकाठमाण्डु, २८ असार– नेसनल ट्रेडिङ लिमिटेडले आगामी बजेटमा आफ्ना लागि ५० करोड ऋण उपलब्ध गराइदिन सरकारसँग माग गरेको छ ।

लिमिटेडले तयार पारेको नयाँ व्यापारिक कार्ययोजना कार्यान्वयन गर्न सरकारसँग सो ऋण माग गरेको हो । लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दीर्घराज श्रेष्ठले शुक्रबार सम्पन्न २५औं साधारणसभामा सरकारले ऋण उपलब्ध नगराए कारोबार बन्द गराउनुको अर्काे विकल्प नरहेको उल्लेख गरे ।

आर्थिक वर्ष २०६४/०६५ सम्ममा ५७ लाख १७ हजार ३७८ मुनाफामा रहेको लिमिटेड त्यसपछिका वर्षहरूमा बजारसँगको प्रतिस्पर्धामा उत्रिन नसक्दा क्रमश: ओरालो लाग्दै गएको छ । यो वर्ष ४२ करोड ७६ लाख २७ हजार ७२५ घाटा भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको लिमिटेडको करमुक्त पसल बन्द हुनु, आयातित वस्तुहरूको बिक्रीमा विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनले असर पर्नु, जिन्सी मौज्दातको मूल्याङ्कनमा परेको असरजस्ता कारणले पनि लिमिटेडले सोचे अनुरूप प्रगति गर्न नसकेको साधारणसभामा जानकारी दिइयो ।

सार्वजनिक खरिद ऐन तथा नियमावली व्यापार घाटाको कारक रहेको मेहताले बताए । ‘हामीलाई हातखुट्टा बाँधेर लडार्इं गर भनेजस्तो भयो’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us