ग्रामीण खानेपानी तथा सरसफाईका लागि ६ अर्ब ९४ करोड सहयोग

काठमाण्डु टुडे २०७१ असार २७ गते १०:५९ मा प्रकाशित

काठमाण्डु, २७ असार – विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास सङ्गठन (आइडिए)ले नेपालमा ग्रामीण खानेपानी तथा सरसफाइ सुधार परियोजना कार्यान्वयन गर्न ६ अर्ब ९४ करोड प्रदान गर्ने भएको छ ।

World-Bankआइडिएले प्रदान गर्ने उक्त रकममध्ये चार अर्ब ८२ करोड ऋण हो भने दुई अर्ब १२ करोड अनुदान हो । आगामी पाँच वर्षका लागि प्रदान गरिने उक्त रकम देशका २४ लाख जनसङ्ख्यालाई खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउन तथा चारसय गाउँ विकास समितिलाई खुला दिसामुक्त गाविसमा रूपान्तरण गर्न खर्च गरिने छ ।

ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतामा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंकका निमित्त प्रमुख विज्ञान प्रधान र अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरे ।

त्यस अवसरमा निमित्त प्रमुख प्रधानले नेपालको सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने प्रयासमा सघाउन उक्त सहयोग फलदायी हुने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुखसमेत रहेका सहसचिव मरासिनीले प्राप्त सहयोगले सन् २०१७ सम्ममा सबैलाई खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने नेपाल सरकारको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न सघाउ पुग्ने बताउँदै नेपालको सामाजिक–आर्थिक विकासमा विश्व बैंकले निरन्तर सहयोग गर्दै आएकामा आभार प्रकट गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us