विद्यालय निर्माणका लागि एकै व्यक्तिबाट १३ लाख सहयोग

काठमाण्डु टुडे २०७१ असार २७ गते ८:१३ मा प्रकाशित

उदयपुर, २७ असार – सामाजिक सेवाका लागि आफ्नो निजी सम्पत्ति दान गर्ने मानिस समाजमा बिरलै मात्रमा पाइन्छन् ।

केही थोरै मानिसले मात्र समाज सेवामा आर्थिक सहयोग गर्ने गरेको कुरा सुन्न पाइन्छ । यस्तै समाजसेवाका लागि ठूलै आर्थिक सहयोग गर्ने व्यक्तित्वमध्ये उदयपुर जिल्लाको हँडिया गाविस– २ बस्ने नरेन्द्र राउत पनि एक हुन् ।

राउतले भर्खरैमात्र उदयपुर जिल्लाको जोगीदह गाविस– १ स्थित जनप्रेमी निम्नमाध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि झन्डै रु १३ लाख नगद आर्थिक सहयोग गरेका छन् ।

हँडियाबाट हाल अस्थायी रुपमा काठमाडाँैमा बसोबास गर्दै आएका राउतले सो विद्यालयको भवन निर्माण गर्नका लागि नगद १३ लाख आर्थिक सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर चौलागाईंले बताए ।

हँडिया गाविस र जोगीदह गाविसको सिमानामा पर्ने जनप्रेमी निमाविमा भवनको अभाव हुँदा विद्यालयका विद्यार्थी पाखामा बसेर अध्ययन गर्न बाध्य भएको देखेर तत्काल नै नयाँ भवन निर्माणका लागि राउतले आर्थिक सहयोग गरेको समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us