चालु आवको आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा सीमित रहने

काठमाण्डु टुडे २०७१ असार २६ गते १२:४७ मा प्रकाशित

काठमाण्डु, २६ असार – सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

ministry of finance(1)(1)आर्थिक वर्ष २०७०– ०७१ मा वास्तविक कुल गार्हस्थ्य उत्पादन ५.५ प्रतिशतले वृद्धि हुने लक्ष्य रहेकोमा त्यस्तो वृद्धिदर आधारभूत मूल्यमा ५.२ प्रतिशत र उत्पादन मूल्यमा ५.५ प्रतिशत हुने भएको छ ।

व्यवस्थापिका–संसद्चालु आर्थिक वर्षको १० महिनाको तथ्याङ्कमा आधारित भएर सरकारले  बिहिबार प्रस्तुत भएको आर्थिक सर्वेक्षण २०७०– ०७१ मा अघिल्लो वर्षमा यस्तो वृद्धिदर आधारभूत मूल्यमा ३.५ प्रतिशत र उत्पादन मूल्यमा ३.९ प्रतिशतमात्र रहेको उल्लेख छ ।

मौसमी अनुकूलता, लगानीको वातावरणमा सुधार, समयमा नै बजेट आएकाले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढ्न गएको सर्वेक्षणमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन ४.७ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत वर्ष यस्तो वृद्धि १.१ प्रतिशत मात्र रहेको थियो ।

त्यसैगरी गैर कृषि क्षेत्रमा भने ५.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष यो क्षेत्र ४.६ प्रतिशतले बढेको थियो । गैर कृषि क्षेत्रमध्ये चालु आर्थिक वर्षमा उद्योग तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.७ प्रतिशत र ६.१ प्रतिशत हुने अनुमान गरिएको छ ।

अघिल्लो वर्ष उक्त क्षेत्रको वृद्धिदर २.५ प्रतिशत र ५.२ प्रतिशत रहेको थियो । गैर कृषि क्षेत्रका विद्युत्, ग्यास तथा पानी, निर्माण, थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, वित्तीय मध्यस्थता, घरजग्गा, शिक्षा क्षेत्रको वृद्धिदर गत वर्षको तुलनामा बढेको छ ।

नेपाली अर्थतन्त्रमा क्रमशः परिवर्तन आई सर्वेक्षणमा कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको छ । क्षेत्रगत आधारमा हेर्दा प्रचलित मूल्यमा चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः ३३.७ प्रतिशत, १४.१ प्रतिशत र ५२.२ प्रतिशत रहने अनुमान छ ।

कुल गार्हस्थ्य उत्पादनलाई कृषि र गैर कृषि क्षेत्र गरी दुई भागमा वर्गीकरण गर्दा कृषि क्षेत्रको योगदान घट्दो क्रममा छ भने गैर कृषि क्षेत्रको योगदानमा सोही मुताविक वृद्धि हुन गएको छ ।

आर्थिक वर्ष २०५८– ५९ को प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३७.४ प्रतिशत रहेकामा चालु आवमा यस क्षेत्रको योगदान ३३.१ प्रतिशत रहेको अनुमान छ ।

कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९१.१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अंश ८९.९ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको कुल उपभोगमा निजी क्षेत्रको उपभोगको अंश ८५.७ प्रतिशत, सरकारी उपभोगको अंश १२.३ प्रतिशत र गैर नाफामूलक संस्थाहरूको उपभोगको अंश दुई प्रतिशत रहेको छ । निजी उद्योगतर्फ खाद्यवस्तु, गैर खाद्यवस्तु र सेवाको अंश क्रमशः ६५.३ प्रतिशत, २३.९ प्रतिशत र १०.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०६९– ७० मा नेपाल सरकारको कुल खर्च ५.७ प्रतिशतले वृद्धि भइ रु तीन खर्ब ५८ अर्ब ६३ करोड रहेको थियो । चालु आर्थिक वर्षमा नेपाल सरकारले कुल खर्च गत वर्ष भन्दा ४४.२ प्रतिशतले वृद्धि भई रु ५ खर्ब १७ अर्ब २४ करोड पुग्ने अनुमान छ । यसमध्ये चालु खर्च रु ३ खर्ब ५३ अर्ब ४२ करोड र पुँजीगत खर्च रु ८५ अर्ब १० करोड पुग्ने अनुमान छ । आर्थिक वर्ष २०६९÷७० मा राजस्व सङ्कलन २१.१ प्रतिशतले बढेकामा चालु आर्थिक वर्षमा १९.७ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ५४ अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा कर राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा २१.४ प्रतिशतले वृद्धि भई र तीन अर्ब १४ अर्ब ६४ करोड पुग्ने अनुमान छ । यस्तै गैर कर राजस्व ८.३ प्रतिशतले वृद्धि भई र ३९ अर्ब ८६ करोड पुग्ने अनुमान छ ।

आर्थिक वर्ष २०६९– ७० मा न्यून वित्त कुल गार्हस्थ्य उत्पादनको १.५ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा वृद्धि भई ४.५ प्रतिशत पुग्ने अनुमान छ । आर्थिक वर्ष २०६९– ७० मा तिर्न बाँकी वैदेशिक र आन्तरिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमशः १९.७ प्रतिशत र १३.० प्रतिशत रहेकामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा यस्तो अनुपात क्रमशः १८.४ प्रतिशत र ११.७ प्रतिशत रही कुल गार्हस्थ्य उत्पादनको ३०.१ प्रतिशतमा झरेको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा निर्माण क्षेत्रमा १.९ प्रतिशतले वृद्धि भएको र चालु आवमा यो क्षेत्रको उत्पादन २.९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । निर्माण सामग्रीको आपूर्तिमा उल्लेखनीय वृद्धि भएपनि सरकार र निजी क्षेत्रको निर्माणमा सामान्य सुधार भएको, विगत पाँच वर्षको अवधिमा उक्त क्षेत्रको औसत वृद्धिदर ३.२ प्रतिशत रहेको र त्यसले चालु आर्थिक वर्षमा ६.७ प्रतिशतले योगदान गर्ने प्रक्षेपण गरिएको छ ।

घरजग्गा व्यवसायमा देखिएको मन्दी, बैंक तथा वित्तीय संस्थाहरूबाट घरजग्गा व्यवसायका लागि प्रवाह हुने कर्जामा अपनाइएको सावधानी, सरकारी पुँजीगत खर्चमा अपेक्षित वृद्धि नहुनु र लगानीको वातावरणमा अपेक्षित सुधार हुन नसकेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

त्यस्तै सेवाक्षेत्र अन्तर्गत थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुराँ, यातायात, भण्डारण तथा सञ्चार, वित्तीय मध्यस्थता, रियलस्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन र रक्षा, शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवाबाट नगण्य योगदान कुल गार्हस्थ्य उत्पादनमा भएको छ ।

सन् २०१३ मा नेपाल भ्रमणमा आएका पर्यटकहरूको सङ्ख्या सन् २०१३ को तुलनामा ०.७ प्रतिशतले ह्रास भै ७ लाख ९७ हजार ७ सय ५९ पुगेको छ । सन् २०१३ मा पर्यटकको सरदर नेपाल बसाइँ अवधि १२.९ दिन रहेकामा सन् २०१३ मा घटेर १२.६ दिन पुगेको छ । आर्थिक वर्ष २०७०÷७१ को आठ महिनाको अवधिसम्ममा पर्यटन क्षेत्रबाट आर्जित विदेशी मुद्रा  ३० अर्ब ४३ करोड रहेको छ भने प्रतिपर्यटक दिन खर्च ३४.५ अमेरिकी डलर रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान करिव २.० प्रतिशत रहेको छ भने यस क्षेत्रमा १ लाख ७८ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

आर्थिक वर्ष २०६९– ७० मा ऊर्जाको खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १३.९ प्रतिशतले बढी १० हजार ३८ टन तेल शक्ति बराबर रहेको थियो । चालु आर्थिक वर्ष २०७०– ७१ को प्रथम आठ महिनामा ऊर्जा खपत गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.३ प्रतिशतले बढी ७ हजार ६ सय ८ टन तेल शक्ति बराबर रहेको छ ।

आर्थिक वर्ष २०६९– ७० मा परम्परागत, व्यापारिक एवम् नवीकरणीय ऊर्जा खपत अनुपात क्रमशः ७९.९ प्रतिशत, १८.५ प्रतिशत र १.६ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष २०७०÷७१ को आठ महिनासम्ममा यी अनुपात क्रमशः ८०.१ प्रतिशत, १६.७ प्रतिशत र ३.२ प्रतिशत रहेका छन् ।

आर्थिक वर्ष २०६९– ७० मा पेट्रोलियम पदार्थको खपत ९.१ प्रतिशतले वृद्धि भई १२ लाख ८८ हजार ६ सय ७६ किलो लिटर तथा एल.पी. ग्यासको खपत १४.१ प्रतिशतले वृद्धि भई २ लाख ७ हजार ३८ मेट्रिक टन रहेको थियो ।

चालु आर्थिक वर्ष २०७०÷७१ को आठ महिनासम्ममा पेट्रोलियम पदार्थको खपत ९.६ प्रतिशतले वृद्धि भई ७ लाख ४६ हजार १ सय ७३ किलोलिटर र एल.पी. ग्यासको खपत १३.५ प्रतिशतले वृद्धि भई १ लाख ५१ हजार २ सय ११ मेट्रिक टन पुगेको छ ।

आर्थिक वर्ष २०७०– ७१ को आठ महिनासम्ममा समग्र शोधनान्तर स्थिति रु १०२ अर्ब ८१ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत रु ११ अर्ब ७८ करोड रहेको थियो । चालु आर्थिक वर्षको समीक्षा अवधिमा चालु खाता रु ६८ अर्ब ४१ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यो खाता रु ९ अर्ब ५१ करोडले बचतमा रहेको थियो । विपे्रषण आय अघिल्लो वर्षको आठ महिनाको अवधिको २२.२ प्रतिशत वृद्धिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३४.१ प्रतिशतको उच्च दरले बढी रु ३५६ अर्ब करोड पुगेको छ ।

२०७० फागुन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०७० असार मसान्तको तुलनामा २२.५ प्रतिशतले बढेर रु ६५३ अर्ब ४२ करोड पुगेको छ । चालु आर्थिक वर्षको आठ महिनासम्ममा कुल वस्तु निर्यात १९.४ प्रतिशतले वृद्धि भई रु ६० अर्ब ९० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात पाँच प्रतिशतले वृद्धि भएको थियो ।

विसं २०६९ फागुन मसान्तमा यस्तो सञ्चिति ३.२ प्रतिशतले वृद्धि भई रु ४५३ अर्ब ६१ करोड रहेको थियो । आर्थिक वर्ष २०७०– ७१ को आठ महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तरले ११.६ महिनाको वस्तु आयात र १०.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

२०६९ फागुन समान्तमा बैंकिङ क्षेत्रसँग रहेको सञ्चितिले सोही अवधिको आयात प्रवृत्तिका आधारमा करिब १०.२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्तरमा रहेको थियो ।

२०७० असार मसान्तको तुलनामा २०७० फागुन मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग २.६ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग २.१ प्रतिशतले अधिमूल्यन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us