सार्वजनिक संस्थाको सञ्चालन आय बढ्यो

काठमाण्डु टुडे २०७१ असार २६ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, २६ असार – सरकारको पूर्ण वा आंशिक स्वमित्वमा सञ्चालित ३७ सार्वजनिक संस्थानको कुल सञ्चालन आय दुई खर्ब २३ अर्ब २६ करोड ३७ लाख पुगेको छ ।

व्यवस्थापिका –संसदमा बिहिबार सार्वजनिक गरिएको ‘सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७१’ अनुसार अघिल्लो वर्षको तुलनामा २०.१७ प्रतिशतले वृद्धि भएको हो । आव २०६८–६९ मा ती संस्थानको सञ्चालन आय एक खर्ब ८५ अर्ब ७९ करोड २७ लाख थियो । सार्वजनिक संस्थानको वित्तीय कार्यकुशलतामा आएको सुधारले आयमा सुधार आएको जनाइएको छ ।

आव २०६९–७० मा ती संस्थानमध्ये १९ खुद नाफामा र १७ खुद नोक्सानीमा सञ्चालित छन् तर नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्रको कारोबार नभएको जनाइएको छ ।

आव २०६८–६९ मा संस्थानको खुद नोक्सान करिब तीन अर्ब ५० करोड रहेकामा आव २०६९–७० मा करिब ११ अर्ब खुद नाफा हुन गएको सर्वेक्षणमा उल्लेख छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल आयल निगमको खुद नोक्सान उल्लेख्य मात्रामा घट्नाले तथा नेपाल वायु सेवा निगम, कृषि विकास बैंक, कृषि सामग्री केन्द्र लिमिटेड, निक्षेप तथा कर्जा सुरक्षण निगमलगायतको खुद नाफा बढेकाले आय बढ्न गएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार आव २०६९–७० सम्ममा ३७ सार्वजनिक संस्थामा सरकारले करिब रु एक खर्ब आठ अर्ब लगानी गरेको छ । त्यसैगरी कुल ऋण लगानी करिब एक खर्ब सात अर्ब पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा सेयर लगानी ५.१३ र ऋण लगानी ५.२० प्रतिशतले बढेको छ । त्यसैगरी आव २०६८–६९ सम्ममा संस्थानको खुद स्थिर सम्पत्ति करिब एक खर्ब २० अर्ब रहेकामा आव २०६९–७० मा उक्त रकम करिब एक खर्ब १९ अर्ब पुगेको छ ।

सरकारले आव २०६९–७० मा सङ्कलन गरेको कुल राजस्व करिब दुई खर्ब ९६ अर्बम सार्वजनिक संस्थानबाट प्राप्त लाभांशको अंश २.३६ प्रतिशत (करिब छ अर्ब ९९ करोड ) छ । सरकारले संस्थानमा गरेको लगानीको अनुपातमा सरकारलाई प्राप्त प्रतिफल ६.४९ प्रतिशत मात्र भएकाले यो प्रतिफल दर प्रचलित ब्याजदरभन्दा न्यून हो ।

आव २०६९–७० को कुल गार्हस्थ्य उत्पादन १६ खर्ब ९३ अर्ब रहेकामा सार्वजनिक संस्थानको कुल सञ्चालन आयको योगदान १३.१७ प्रतिशत ( दुई खर्ब २३ अर्ब) रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us