बङ्गुर पाल्नेको आम्दानी अधिकृतको भन्दा दोब्बर

काठमाण्डु टुडे २०७१ असार २५ गते ११:१६ मा प्रकाशित

इलाम, २५ असार – सरकारी सेवामा शाखा अधिकृत स्तरका कर्मचारीको तलबभन्दा दोब्बर कमाइ गर्न सक्षम भएपछि टेकबहादुर राईलाई अहिले कुनै पछुतो छैन । हालै घोषित पूर्वी सूर्याेदय नगरपालिका–५ केराबारीका राईको कमाइ आफ्नो व्यवसायप्रति पूर्ण सन्तुष्ट रहेको बताउनुहुन्छ ।

बिहानदेखि बेलुकासम्म आफ्नै बङ्गुर फार्ममा खटेर अधिकृतभन्दा बढी कमाउँछन् उनी । बङ्गुरबाट उनको कमाइ लोभलाग्दो छ ।

विसं २०६० मा काठमाडौँस्थित कान्तिपुर पब्लिकेशनबाट छँदाखाँदाको जागिर चटक्कै छाडेर गाउँ हान्निएका उनले घरमै बङ्गुरपालन व्यवसाय थालेका हुन् । काठमाडौँमा बस्दा उसबेला छ हजार जागिर थियो । त्यसले खान र पकेट खर्च नै चलाउन धौधौ परेपछि प्रेसको काम छाडेर घर फर्किएको हुँ, उनी भन्छन्, “अहिले महिनामा ५० हजारभन्दा बढी नै कमाउँछु, मीठो मसिनो खान पनि पुगेकै छ ।”

घर फर्किएपछि स्नातक तह पढ्न थाले तर पूरा भने गरेको छैन् । उनकोे बङ्गुरपालन व्यवसाय फस्टाउँदै गयो । रु एक लाखले व्यवसाय सुरू गरको राईको अहिले खोरमा १० लाखभन्दा बढीका बङ्गुर छन् ।

राईको बङ्गुर फार्ममा डयुयोर्क, हेमसायर, योर्कसायर जातका ६४ वटा बङ्गुर छन् । यसमा तीन दर्जनभन्दा बढी पाठापाठी छन् । एउटा भुनी माउले तीन महिनामा बच्चा पाउँछ । माउ पनि पाँच वटाभन्दा बढी छन् । महिनामा कम्तीमा ६० देखि ७० वटा पाठापाठी बिक्री गर्ने गरेको उनी बताउँछन् ‘गर्न सक्दा र खट्यो विदेशमा कमाउनेभन्दा दोब्बर यहीँ कमाउन सकिन्छ’ ।

राईको साङपाङ बङ्गुर फार्मको निरीक्षण गरेपछि जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा पशुपति ढुङ्गानाले भने , “राईजस्तै थुप्रै युवाले स्वदेशमै बसेर राम्रो व्यवसाग गर्न सक्छन्, उनीहरुलाई राज्यले पनि लगानी गर्छ ।”

उन्नत जातका बङ्गुरबाट जन्मिएका पाठापाठी पाल्नका लागि गोदक, पशुपतिनगरलगायत जिल्लाकै अन्यत्र पनि लैजाने गरिन्छ । उत्पादित बङ्गुर र पाठापाठीको बजार सीमावर्ती सिक्किम र दार्जिलिङ हो । भारत पु¥याएपछि एउटा पाठो कम्तीमा चार हजार देखि पाँच हजारसम्म बिक्री हुने बताए ।

उनलाई बजारको पनि कुनै समस्या छैन । व्यापारी घरघरमै गाडी लिएर बङ्गुर किन्न आउँछन् । एउटा वयस्क बङ्गुरमा कम्तीमा पनि ३०० देखि ३२० किलोग्रामसम्म मासु हुन्छ । यसलाई रु ४० हजारदेखि ६२ हजारसम्ममा बिक्री हुने उनको भनाइ छ ।

सबै खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । बङ्गुरको मासु खाँदा मानिसलाई कुनै पनि खालको असर नगर्ने भएकाले यसको मासुको माग बढ्दै गएको पाइन्छ ।

जिल्ला पशु सेवा कार्यालयले उनलाई चालु वर्षमा खोर व्यवस्थापनका लागि ७५ हजार सहयोग गरेको छ भने बङ्गुरलाई आन्तरिक तथा वाह्य परजीविको सङ्क्रमण नहोस् भनेर औषधि उपचारको समेत प्रबन्ध मिलाएको छ ।

अहिले उनको फर्म यस व्यवसायका बारेमा सिक्नेका लागि उपयुक्त थलो बनेको छ । जिल्ला पशु सेवा कार्यालयले उहाँलाई जिल्लाको एक सफल व्यावसायीको सूचीमा राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us